काठमाडौं। नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश मनोजकुमार शर्मा र सर्वोच्च अदालतका न्यायाधीश हरि फुयालको बिचौलिया इनम सापकोटासँग जोडिएको विषयमा निष्पक्ष छानबिन गर्न माग गरेको छ।

बारका महासचिव केदार कोइरालाले बिहीबार जारी गरेको विज्ञप्तिमार्फत विवादित मुद्दासँग सम्बन्धित भेटघाट र संवादबारे सत्यतथ्य पत्ता लगाउन आग्रह गरेका हुन्।

ad

न्यायपालिकाको नेतृत्व र न्यायाधीशहरूको आचरणसँग सम्बन्धित विषय सार्वजनिक भएपछि त्यसलाई सामान्य समाचारको विषयका रूपमा मात्रै सीमित गर्न नहुने बारको धारणा छ। यस्ता विषयले न्यायपालिकाको विश्वसनीयता र जनआस्थासँग प्रत्यक्ष सरोकार राख्ने भएकाले आधिकारिक प्रक्रियाबाट वास्तविकता सार्वजनिक गर्नुपर्ने बारले जनाएको छ।

बारले सार्वजनिक भएका विवरणलाई नै अन्तिम सत्य मान्न वा त्यसकै आधारमा कसैलाई दोषी ठहर गर्न नहुने स्पष्ट पारेको छ। तर, न्यायपालिकाको उच्च नेतृत्व र न्यायाधीशहरूको आचरणमाथि प्रश्न उठिसकेको अवस्थामा निष्पक्ष, विश्वसनीय र पारदर्शी ढङ्गले छानबिन गर्नु आवश्यक रहेको विज्ञप्तिमा उल्लेख छ।

त्यसैगरी बारले संवेदनशील विषयमा सम्बन्धित उच्च पदस्थ पदाधिकारीहरूलाई उच्च नैतिकता र जिम्मेवारी प्रदर्शन गर्न आग्रह गरेको छ।

यता, प्रधानन्यायाधीश शर्मा र न्यायाधीश फुयालले बिचौलिया सापकोटासँग आफ्नो सम्बन्ध रहेको भन्ने दाबी अस्वीकार गरेका छन्।

यस प्रकरणमा सार्वजनिक भएका विवरण, सम्बन्धित पदाधिकारीका भनाइ र छानबिनबाट आउने निष्कर्षले घटनाको वास्तविकता स्पष्ट पार्ने अपेक्षा गरिएको छ।