
काठमाडौं । उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम बढेपछि अध्यागमन विभागले पर्यटकलाई तीन दिन पदयात्रा नगर्न आग्रह गरेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले कात्तिक १२, १३ र १४ गते हिमाली तथा उच्च पहाडी क्षेत्रमा प्रतिकूल मौसमको जोखिम औँल्याएपछि विभागले पर्यटकका लागि सतर्कतासम्बन्धी सूचना जारी गरेको हो।
मंगलबार जारी सूचनामार्फत विभागले उक्त अवधिमा निषेधित क्षेत्रमा पदयात्रा नगर्न र पदयात्रामा निस्किसकेका पर्यटकलाई सुरक्षित स्थानमा बस्न अनुरोध गरेको छ।
सम्भावित विपद्बाट हुने क्षति न्यूनीकरण गर्न जोखिमयुक्त निषेधित क्षेत्रमा जाने पदयात्राका लागि अनुमति जारी नगरिने विभागले जनाएको छ। यो व्यवस्था मंगलबारदेखि नै लागू हुने सूचनामा उल्लेख छ।
विभागले पदयात्रामा संलग्न पर्यटक, ट्रेकिङ एजेन्सी, पथप्रदर्शक तथा अन्य सम्बन्धित पक्षलाई जारी सूचनाको पालना गर्न र आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।
अध्यागमन विभागका निर्देशक सूर्यप्रसाद चापागाईंले जारी गरेको सूचनामा प्रतिकूल मौसमका कारण हुन सक्ने जोखिमबाट जोगिन आवश्यक सावधानी अपनाउनसमेत भनिएको छ।
भारी हिमपात, हिमआँधी र हिमपहिरोको सम्भावनालाई ध्यानमा राख्दै विभागले पर्यटकको सुरक्षा सुनिश्चित गर्न पदयात्रासम्बन्धी गतिविधिमा अस्थायी रोक लगाउने निर्णय गरेको हो।









Facebook Comments