
काठमाडौं । कर्णाली प्रदेशका दुर्गम तथा पहाडी क्षेत्रमा हवाई उडान सञ्चालन गर्दा देखिएका समस्या समाधान गरी सेवा प्रभावकारी बनाउने विषयमा सरोकारवालाबीच छलफल भएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेल, कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री, सम्बन्धित मन्त्रालयका सचिव तथा सहसचिव, नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक र कर्णालीका पहाडी क्षेत्रमा उडान गर्दै आएका निजी वायुसेवा कम्पनीका सञ्चालकहरू छलफलमा सहभागी भएका थिए।
छलफलमा कर्णालीका दुर्गम क्षेत्रमा हवाई सेवा सञ्चालन गर्दा देखिएका समस्या पहिचान गर्दै तिनको समाधानका सम्भावित उपायबारे विचारविमर्श भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ।
भौगोलिक विकटताका कारण सडक यातायात सहज नभएका कर्णालीका धेरै स्थानमा हवाई सेवा आवागमनको महत्त्वपूर्ण माध्यम बनेको छ। यस्तो अवस्थामा उडान सेवालाई नियमित, सहज र प्रभावकारी बनाउने विषयमा सरोकारवालाबीच समन्वय आवश्यक रहेको छ।
मन्त्रालयका अनुसार छलफलको मुख्य उद्देश्य कर्णालीका पहाडी क्षेत्रमा हवाई सेवा सञ्चालनका क्रममा देखिएका व्यावहारिक कठिनाइ पहिचान गर्नु र सेवा सुधारका लागि सम्भावित विकल्प खोज्नु रहेको छ।
कर्णालीका दुर्गम बस्तीमा हवाई पहुँचलाई सहज बनाउने तथा उडान सञ्चालनसँग सम्बन्धित समस्या समाधान गर्न सम्बन्धित सरकारी निकाय, नियामक निकाय र निजी वायुसेवा सञ्चालकबीच सहकार्य बढाउने विषय पनि छलफलसँग जोडिएको छ।
यद्यपि छलफलबाट भएका ठोस निर्णय, समाधानका लागि तय गरिएको कार्ययोजना तथा कार्यान्वयनको समयसीमाबारे मन्त्रालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छैन।









Facebook Comments