काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यास बिक्री गर्दा उपभोक्तालाई अनिवार्य रूपमा मूल्य अभिवृद्धि कर (भ्याट) बिल उपलब्ध गराउन ग्यास उद्योगहरूलाई निर्देशन दिएको छ।

ग्यास बिक्री गरेपछि उपभोक्तालाई बिलबिजक नदिने गरेको गुनासो बढेपछि निगमले यस्तो कदम चालेको हो। निगमको एलपी ग्यास तथा एभिएसन विभागले सोमबार सबै ग्यास उद्योगलाई पत्राचार गर्दै आफ्ना डिलर तथा विक्रेतामार्फत बिक्री हुने ग्यासमा अनिवार्य बिल जारी गर्ने व्यवस्था मिलाउन भनेको छ।

ad

निगमले ग्यास उद्योगहरूलाई पठाएको पत्रमा उद्योगबाट नियुक्त कतिपय विक्रेताले ग्यास बिक्री गरेपछि बिलबिजक जारी नगरेको गुनासो प्राप्त भएको उल्लेख छ। त्यसैले उपभोक्ताले ग्यास खरिद गर्दा अनिवार्य रूपमा भ्याट बिल पाउने व्यवस्था गर्न निर्देशन दिइएको हो।

निगमले यसअघि पनि ग्यास उद्योगलाई आफ्ना डिलर तथा विक्रेताको गतिविधि नियमन र नियन्त्रण गर्न निर्देशन दिएको जनाएको छ। यससम्बन्धी व्यवस्था कार्यान्वयनका लागि २०८१ साउन ३० र माघ १० गतेसमेत सम्बन्धित सङ्घलाई पत्राचार गरिएको निगमले स्मरण गराएको छ।

उपभोक्ता ठगी र कालोबजारी नियन्त्रण गर्ने लक्ष्य
ग्यास बिक्रीमा बिलबिजक अनिवार्य गर्दा कारोबारलाई पारदर्शी बनाउन र उपभोक्ताले खरिद गरेको ग्यासको प्रमाण सुनिश्चित गर्न सहयोग पुग्ने निगमको अपेक्षा छ।

बिल नदिई ग्यास बिक्री गर्दा वास्तविक कारोबारको विवरण अस्पष्ट हुने र उपभोक्ता ठगी तथा कालोबजारीको जोखिम बढ्न सक्ने भएकाले बिक्री प्रक्रियालाई व्यवस्थित बनाउन खोजिएको हो।

निगमले ग्यास उद्योगहरूलाई निर्देशन कार्यान्वयन गराउन र आफ्ना विक्रेतामाथि निगरानी बढाउन आग्रह गरेको छ। पत्रको बोधार्थ निगमका कार्यकारी निर्देशक र नायब कार्यकारी निर्देशक (बजार व्यवस्था) लाई समेत दिइएको छ।

निगमको निर्देशन प्रभावकारी रूपमा कार्यान्वयन भएमा ग्यास खरिद गर्ने उपभोक्ताले बिल प्राप्त गर्ने र बजारमा हुने कारोबारको पारदर्शिता बढ्ने अपेक्षा गरिएको छ।