काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतमा दिएको अभिव्यक्तिमाथि प्रश्न उठाउँदै नेपालको राष्ट्रवादलाई भारतविरोधी भावनासँग जोड्नु अनुचित भएको बताएका छन्। उनले यस्तो अभिव्यक्तिले नेपालको राष्ट्रिय स्वाभिमान र हितमा असर पार्न सक्ने टिप्पणी गरेका छन्।

अर्थमन्त्री वाग्लेले नयाँदिल्लीमा आयोजित एनडीटीभी वर्ल्ड समिट २०२६ मा नेपालमा भारतविरोधी राष्ट्रवादको युग समाप्त भएको बताएका थिए। उक्त अभिव्यक्तिपछि राजनीतिक वृत्तमा बहस भइरहेका बेला एमाले नेता ज्ञवालीले सामाजिक सञ्जालमार्फत आफ्नो असहमति सार्वजनिक गरेका हुन्।

ad

ज्ञवालीले नेपालको राष्ट्रवादको व्याख्या भारतविरोधी भावनाका रूपमा गर्न नमिल्ने उल्लेख गर्दै नेपालले सधैँ सार्वभौमिक समानता, पारस्परिक सम्मान र साझा हितमा आधारित सम्बन्धको पक्षमा आवाज उठाउँदै आएको बताएका छन्।

उनले लेखेका छन्, “नेपालमा कहिल्यै ‘भारतविरोधी राष्ट्रवादको युग’ थिएन। नेपालले जहिल्यै सार्वभौम समानता र पारस्परिक हित एवं सम्मानमा उभिएको मित्रतापूर्ण सम्बन्ध चाह्यो र आज पनि त्यही चाहन्छ।”

विदेशी भूमिमा पुगेर नेपालको आन्तरिक राजनीतिक अवस्थाबारे टिप्पणी गर्नु कूटनीतिक मर्यादाअनुकूल नभएको ज्ञवालीको तर्क छ। उनले वाग्लेको अभिव्यक्तिलाई असान्दर्भिक र नेपालको स्वाभिमानमा आँच पुर्‍याउन सक्ने खालको भन्दै आलोचना गरेका छन्।

कुनै व्यक्ति वा समूहको विचारलाई समग्र नेपाली समाजको धारणा मानेर प्रस्तुत गर्न नहुने उल्लेख गर्दै ज्ञवालीले अर्थमन्त्रीले कुन समयलाई ‘भारतविरोधी राष्ट्रवादको युग’ भनेका हुन् भन्ने प्रश्नसमेत गरेका छन्।

नेपाल–भारत सम्बन्धका अनसुल्झिएका मुद्दा उठाए ज्ञवालीले

ज्ञवालीले नेपाल र भारतबीच ऐतिहासिक तथा सांस्कृतिक निकटता रहे पनि द्विपक्षीय सम्बन्धमा अझै समाधान हुन बाँकी विषय धेरै रहेको बताएका छन्। उनका अनुसार यस्ता मुद्दामा खुला छलफल र कूटनीतिक पहल नगरी सम्बन्धलाई थप मजबुत बनाउन सकिँदैन।

उनले नेपाल–भारत सीमा विवाद, सन् १९५० को शान्ति तथा मैत्री सन्धिका कतिपय प्रावधान, नेपाली वस्तुले भारतीय बजारमा प्रवेश गर्दा भोग्नुपर्ने कठिनाइ र दुई देशबीच बढिरहेको व्यापार घाटालाई प्रमुख समस्याका रूपमा औँल्याएका छन्।

त्यसैगरी, सीमावर्ती क्षेत्रमा निर्माण गरिएका एकतर्फी बाँधका कारण नेपाली भूभागमा हुने डुबान तथा नेपालले पाउनुपर्ने वैकल्पिक हवाई प्रवेश मार्गको विषयमा भइरहेको ढिलाइप्रति पनि उनले सरकारको ध्यानाकर्षण गराएका छन्।

यी समस्याबारे स्पष्ट रूपमा कुरा गर्नु भारतविरोधी गतिविधि नभई नेपालको राष्ट्रिय हितसँग सम्बन्धित विषय भएको उनको भनाइ छ।

“घनिष्ठ छिमेकी मित्रसँग यी विषयमा खुलस्त कुरा हुनु आवश्यक छ। समस्यालाई गुन्द्रीमुनि लुकाएर सम्बन्ध बलियो हुँदैन,” ज्ञवालीले सामाजिक सञ्जालमा लेखेका छन्।

उनले दुई देशबीचका असहमति र विवादलाई बेवास्ता गरेर मात्रै मित्रता बलियो नहुने उल्लेख गर्दै पारस्परिक सम्मानका आधारमा समस्याको समाधान खोज्नुपर्ने बताएका छन्।

राष्ट्रिय हितमा साझा सहमति आवश्यक

पूर्वपरराष्ट्रमन्त्री ज्ञवालीले नेपालको राष्ट्रिय हितको संरक्षण गर्नु सरकारको प्रमुख जिम्मेवारी भएको बताएका छन्। नेपाल–भारत सम्बन्धका संवेदनशील विषय समाधान गर्न राजनीतिक दलहरूबीच साझा धारणा निर्माण गरी कूटनीतिक पहल अघि बढाउनुपर्नेमा उनले जोड दिएका छन्।

उनका अनुसार राष्ट्रिय स्वाभिमानसँग जोडिएका विषयमा स्पष्ट अडान राख्नु र छिमेकीसँगको सम्बन्धलाई सन्तुलित ढङ्गले अघि बढाउनु एकअर्काका विरोधी उद्देश्य होइनन्।

वाग्लेको अभिव्यक्तिप्रति टिप्पणी गर्दै ज्ञवालीले यथार्थ समस्यालाई बेवास्ता गरेर सम्बन्ध सुधार गर्न खोज्नु उचित नहुने बताएका छन्। उनले तुष्टीकरणको नीतिले राष्ट्रिय हित र स्वाभिमानको रक्षा गर्न नसक्ने धारणा राखेका छन्।

नेपाल र भारतबीचको सम्बन्धलाई थप सुदृढ बनाउन समान सार्वभौमिकता, आपसी सम्मान र साझा हितलाई आधार बनाउनुपर्ने उनको निष्कर्ष छ। राष्ट्रिय हितसँग सम्बन्धित मुद्दामा स्पष्ट धारणा राख्दै वार्तामार्फत समाधान खोज्नु नै नेपालको कूटनीतिक प्राथमिकता हुनुपर्ने ज्ञवालीको भनाइ छ।