काठमाडौं । नेपाल–भारत खुला सीमाबाट हुने मानव बेचबिखन, लागुऔषध तस्करी, अवैध व्यापार तथा तेस्रो मुलुकका नागरिकको आवागमन व्यवस्थापनलाई प्रभावकारी बनाउने विषयमा दुवै देशका सुरक्षा अधिकारीले छलफल गर्ने भएका छन्।

यसका लागि सशस्त्र प्रहरी बल, नेपाल (एपीएफ) र भारतको सशस्त्र सीमा बल (एसएसबी) का उच्च अधिकारी मंगलबारदेखि काठमाडौंमा हुने तीनदिने वार्षिक समन्वय बैठकमा सहभागी हुँदैछन्।

ad

१०औँ वार्षिक समन्वय बैठकमा एपीएफका महानिरीक्षक नारायणदत्त पौडेल र एसएसबीका महानिर्देशक सञ्जय सिंघलले आ–आफ्नो टोलीको नेतृत्व गर्नेछन्। नेपाल भ्रमणका क्रममा सिंघलले गृहमन्त्री सुधन गुरुङ, गृहसचिव केदारनाथ शर्मा तथा अन्य सरकारी अधिकारीसँग पनि शिष्टाचार भेट गर्ने कार्यक्रम छ।

बैठकमा सीमापार अपराध नियन्त्रण, सीमा क्षेत्रमा सुरक्षा समन्वय र दुवै देशबीच सूचना आदानप्रदानलाई प्रभावकारी बनाउने विषय प्रमुख रूपमा उठ्नेछन्। एपीएफका एक वरिष्ठ अधिकारीका अनुसार तेस्रो मुलुकका नागरिकको आवागमन निगरानी, मानव बेचबिखन, लागुऔषध तथा अन्य प्रतिबन्धित वस्तुको ओसारपसार र सीमा क्षेत्रमा देखिएका विवादबारे छलफल हुनेछ।

त्यसैगरी संयुक्त सीमा गस्ती, सीमा स्तम्भको मर्मतसम्भार, विपद् व्यवस्थापन, सीमापार अपराध नियन्त्रणमा अन्तरनिकाय समन्वय तथा विगतका बैठकमा भएका सहमतिको कार्यान्वयन अवस्थाको समीक्षा पनि गरिनेछ। बैठकले आगामी दिनमा दुवै सुरक्षा निकायबीच सहकार्यका लागि आवश्यक कार्ययोजना तयार गर्ने अपेक्षा गरिएको छ।

सीमापार अपराध नियन्त्रणमा सूचना आदानप्रदानलाई जोड
नेपाल र भारतबीच करिब एक हजार ७५१ किलोमिटर लामो खुला सीमा छ। दुवै देशबीचको ऐतिहासिक, सामाजिक, सांस्कृतिक र आर्थिक सम्बन्धका कारण सीमावर्ती क्षेत्रबाट मानिस तथा वस्तुको आवागमन सहज छ। तर, यही खुला सीमाको दुरुपयोग गरेर हुने आपराधिक गतिविधि नियन्त्रण गर्नु दुवै देशका सुरक्षा निकायका लागि चुनौती बनेको छ।

सीमामा हुने अवैध गतिविधि नियन्त्रण गर्न संयुक्त प्रयास, नियमित गस्ती र समयमै सूचना आदानप्रदान आवश्यक रहेको सुरक्षा अधिकारीहरूको भनाइ छ। यसपटकको बैठकमा सीमामा देखिएका नयाँ सुरक्षा चुनौती पहिचान गर्दै तिनको नियन्त्रणका लागि व्यावहारिक उपाय खोजिनेछ।

अघिल्लो बैठकमा पनि तेस्रो मुलुकका नागरिकको सीमावर्ती क्षेत्रमा हुने आवागमनलाई लिएर दुवै पक्षले चासो व्यक्त गरेका थिए। भारतीय पक्षले नेपाली सीमावर्ती क्षेत्र हुँदै चिनियाँ तथा पाकिस्तानी नागरिकको आवागमनबारे चासो राखेको थियो भने नेपालले रोहिंग्या शरणार्थी र बंगलादेशी नागरिकको आवागमन व्यवस्थापनबारे आफ्नो धारणा राखेको थियो।

एपीएफका एक अधिकारीका अनुसार पछिल्लो समय त्यस्तो आवागमन घटेको छ। यद्यपि सीमावर्ती क्षेत्रमा निगरानी र सूचनाको आदानप्रदानलाई निरन्तर प्रभावकारी बनाउनुपर्ने आवश्यकता रहेको उनले बताए।

पुराना सहमतिको समीक्षा, नयाँ कार्ययोजना
नेपाल र भारतबीच खुला सीमाको व्यवस्थापन तथा सुरक्षा सहकार्यलाई व्यवस्थित बनाउन सन् २०१२ देखि वार्षिक समन्वय बैठक हुँदै आएको छ। कोभिड–१९ महामारीलगायत विभिन्न परिस्थितिमा अवरोध आएको समयबाहेक यस्तो बैठक नियमित रूपमा आयोजना हुँदै आएको छ।

गृह मन्त्रालयका एक अधिकारीका अनुसार खुला सीमाबाट हुने वैध आवागमनलाई सहज बनाउँदै अवैध गतिविधि नियन्त्रण गर्नु बैठकको मुख्य उद्देश्य हो। मानव बेचबिखन, लागुऔषध तस्करी, भन्सार छली र गैरकानुनी व्यापारजस्ता गतिविधि नियन्त्रण गर्न दुवै देशका सुरक्षा निकायबीच सहकार्य आवश्यक छ।

उनका अनुसार बैठकले विगतका सहमतिको प्रगति मूल्याङ्कन गर्नुका साथै पछिल्लो समय देखिएका सुरक्षा चुनौतीको समीक्षा गर्नेछ। त्यसका आधारमा सीमाको व्यवस्थापन सुधार्ने, आपसी समन्वय बढाउने र वैध सीमापार आवागमनलाई व्यवस्थित बनाउने उपाय तय गरिनेछ।

बैठकमा सुरक्षा निकायका अधिकारीसँगै सम्बन्धित मन्त्रालय तथा विभागका प्रतिनिधि पनि सहभागी हुनेछन्। खुला सीमाबाट हुने आवागमनलाई व्यवस्थित गर्दै सीमापार अपराध नियन्त्रणमा प्रभावकारी परिणाम हासिल गर्नु दुवै देशका लागि महत्त्वपूर्ण चुनौती बनेको छ।