काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तीन शीर्ष नेता आसन्न महाधिवेशनअघि पार्टी सङ्गठन सुदृढीकरण र राजनीतिक गतिविधि बढाउन जिल्ला भ्रमणमा निस्कने भएका छन्। पूर्वअध्यक्षद्वय कमल थापा र प्रकाशचन्द्र लोहनी तथा वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डे देशका विभिन्न जिल्ला पुगेर पार्टीका नेता तथा कार्यकर्तासँग छलफल गर्ने तयारीमा छन्।

नेता थापाका अनुसार उनीहरूको भ्रमण कात्तिक ११ गते पर्साको वीरगञ्जबाट सुरु हुनेछ। मधेस प्रदेशका विभिन्न जिल्ला हुँदै कोशी प्रदेशका जिल्लाको भ्रमणपछि झापामा पुगेर कार्यक्रम सम्पन्न हुनेछ।

ad

निर्धारित कार्यक्रमअनुसार टोलीले पर्सापछि बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरीको भ्रमण गर्नेछ। त्यसपछि सुनसरी र मोरङ हुँदै झापा पुग्ने तालिका छ।

थापाले भ्रमणको कार्यक्रम सार्वजनिक गर्दै पार्टी सङ्गठनलाई बलियो बनाउने, आसन्न स्थानीय निर्वाचनको तयारी गर्ने र समसामयिक राजनीतिक अवस्थाबारे पार्टीभित्र छलफल गर्ने उद्देश्य रहेको बताएका छन्।

उनले भनेका छन्, “पार्टी सङ्गठन सुदृढीकरण, आसन्न स्थानीय निर्वाचन र समसामयिक राजनीतिक अवस्थाबारे पार्टी पङ्क्तिसँग बृहत् अन्तर्क्रियाका लागि हामी विभिन्न जिल्लाको भ्रमणमा जाँदै छौँ।”

भ्रमणका क्रममा सम्बन्धित जिल्लाका नेता तथा कार्यकर्तासँग सङ्गठनको अवस्था, आगामी निर्वाचनको तयारी र समसामयिक राजनीतिक विषयमा छलफल हुने अपेक्षा गरिएको छ। थापाले निर्धारित कार्यक्रममा सहभागी हुन सम्बन्धित जिल्लाका पार्टी नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्।

राप्रपाले आगामी मङ्सिरमा महाधिवेशन गर्ने तयारी गरेको छ। महाधिवेशनअघि हुन लागेको यो जिल्ला भ्रमणलाई पार्टीको सङ्गठनात्मक गतिविधि विस्तार तथा कार्यकर्तासँग प्रत्यक्ष संवाद गर्ने कार्यक्रमका रूपमा हेरिएको छ।