गुल्मी । गुल्मीमा दर्शनार्थी बोकेको स्कारपियो गाडी दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। स्याङ्जाको वालिङबाट हिलेसिद्ध दर्शनका लागि आएका यात्रु सवार गाडी सोमबार दिउँसो गुल्मीको कालीगण्डकी गाउँपालिका–२, दभौखानीमा दुर्घटनामा परेको हो।

कालीगण्डकी गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापाका अनुसार दुर्घटनामा पाँच जनाको घटनास्थलमै मृत्यु भएको थियो। एक जनाको उद्धार गरी अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको उनले जानकारी दिए।

ad

मृत्यु हुनेमा चार जना पुरुष र दुई जना महिला रहेका छन्। दुर्घटनामा घाइते भएका तीन जनाको कालीगण्डकी अस्पतालमा उपचार भइरहेको छ। मृतक र घाइतेको पहिचान भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माका अनुसार गण्डकी प्रदेश ०२–०२० नम्बरको स्कारपियो गाडी अनियन्त्रित भएर सडकबाट करिब २५० मिटर तल खसेको थियो।

दुर्घटनाको खबर प्राप्त भएपछि उद्धारका लागि विभिन्न प्रहरी टोली घटनास्थलमा परिचालन भएका थिए। प्रहरी चौकी पूर्तिघाटबाट प्रहरी सहायक निरीक्षक बाबुराम श्रेष्ठको कमान्डमा छ जना र इलाका प्रहरी कार्यालय रिडीबाट प्रहरी निरीक्षक ज्ञानबहादुर माझीको कमान्डमा पाँच जना प्रहरी खटिएका थिए।

थप उद्धार कार्यका लागि प्रहरी नायब उपरीक्षक विश्वकर्माको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय गुल्मीबाट १० जनाको टोलीसमेत घटनास्थल पुगेको थियो।

दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।