राजविराज। आफन्त गुमाउँदाको पीडा एकातिर छ, मृत्यु संस्कार पूरा गर्नुपर्ने जिम्मेवारी अर्कोतिर। त्यसमाथि समाजले मृत्यु भोज गर्नैपर्ने दबाब दिएपछि मधेसका कतिपय परिवार शोकसँगै आर्थिक सङ्कटमा पनि फस्ने गरेका छन्। सामाजिक प्रतिष्ठा र परम्पराको नाममा ऋण लिएर भोज गर्ने चलनले मृतकका परिवारलाई वर्षौँसम्म ऋणको बोझ बोक्न बाध्य बनाएको छ।

मृत्यु भएपछि धार्मिक तथा सांस्कृतिक परम्पराअनुसार क्रियाकर्म गर्नु स्वाभाविक हो। तर क्रियाकर्मसँगै भोजको खर्च जुटाउनुपर्ने बाध्यताले परिवारको पीडा थप्ने गरेको छ। जात र समुदायअनुसार मृत्यु भएको १३ दिनभित्र तीनदेखि पाँच पटकसम्म भोज गर्ने चलन छ। कतिपय परिवारले समाजमा आफ्नो प्रतिष्ठा कायम राख्न र अरूभन्दा ठूलो भोज गर्न प्रतिस्पर्धासमेत गर्छन्।

ad

आफन्त गुमाएको शोकमा रहेका परिवारले मृतकको सम्झना र क्रियाकर्ममा ध्यान दिनुपर्ने समयमा भोजको खर्च कसरी जुटाउने भन्ने चिन्ता लिनुपर्ने अवस्था छ। आर्थिक अवस्था कमजोर भएका परिवारसमेत समाजको दबाबका कारण ऋण लिएर भोज गर्न बाध्य छन्।

पूर्वशिक्षामन्त्री रेणु यादव मृत्यु भोजलाई संस्कृतिका नाममा बाध्यकारी बनाउनु गलत भएको बताउँछिन्। उनका अनुसार अन्नदान गर्नु पुण्यको काम भए पनि ऋण लिएर भोज गर्नु उचित होइन।

“मृत्युमा अनिवार्य भोज गर्नुपर्ने प्रथाको न्यूनीकरण मात्र होइन, अन्त्य नै गर्नुपर्ने आवश्यकता छ,” उनले भनिन्, “समाजले जबर्जस्ती लादेको परम्परा परिवर्तन गर्न सबै एकजुट भएर लाग्नुपर्छ।”

उनले भोज संस्कार र सामाजिक दबाबका कारण नभई स्वेच्छाले गर्नुपर्ने बताइन्। परिवारको आर्थिक अवस्था र क्षमताभन्दा बाहिर गएर भोज गर्नुपर्ने बाध्यताको अन्त्य हुनुपर्ने उनको भनाइ छ।

मधेसमा यादव समुदायमा २५ देखि ५० गाउँसम्मका मानिसलाई एकैपटक सहभागी गराएर सभा भोज गर्ने चलनसमेत छ। ठूलो सङ्ख्यामा मानिसलाई भोज खुवाउनुपर्ने हुँदा आयोजक परिवारले ठूलो रकम खर्च गर्नुपर्छ। सामाजिक प्रतिष्ठाका लागि गरिने यस्ता भोजले आर्थिक अवस्था कमजोर भएका परिवारलाई थप समस्यामा पार्ने गरेको आमसञ्चार प्राधिकरण मधेस प्रदेशका पूर्वअध्यक्ष श्यामसुन्दर यादव बताउँछन्।

“मृत्यु भोजलाई प्रोत्साहन गर्नुभन्दा निरुत्साहित गर्नुपर्ने आवश्यकता छ,” उनले भने।

उनका अनुसार एउटा भोजमा ५० हजारसम्म स्वजाति तथा आफन्त सहभागी हुने गरेका छन्। यति ठूलो सङ्ख्यामा मानिसलाई भोज खुवाउँदा हुने खर्च अन्य उपयोगी काममा लगाउन सकिन्छ। भोजमा खर्च हुने रकम विपन्न परिवारको जीविकोपार्जन, बालबालिकाको शिक्षा र आयआर्जनमा लगानी गर्न सके समाजको आर्थिक तथा शैक्षिक अवस्था सुधार्न सहयोग पुग्ने उनको भनाइ छ।

तीन लाख ऋण, अझै तिर्न सकिनन्
मृत्यु भोजका कारण ऋणको बोझमा परेकी एक प्रतिनिधि पात्र हुन्, सप्तरीको राजविराज नगरपालिका–१ की दुर्गादेवी रजक। सासुको मृत्यु भएपछि आर्थिक अवस्था कमजोर भएकाले उनले भोज गर्न नसक्ने बताएकी थिइन्। तर समाजका मानिसले भोज गर्नैपर्ने दबाब दिएपछि उनले ऋण लिएर भोज गर्नुपर्‍यो।

भोजको खर्च जुटाउन उनले तीन लाख रुपैयाँ ऋण लिइन्। ऋणको ब्याज जसोतसो तिरे पनि मूलधन भने अहिलेसम्म चुक्ता गर्न सकेकी छैनन्। आफन्तको मृत्युमा गर्नुपरेको भोजको खर्चले उनलाई लामो समयदेखि आर्थिक समस्यामा पारेको छ।

दुर्गादेवीको समस्या मधेसका धेरै परिवारको साझा पीडा भएको नेपाल पत्रकार महासङ्घ सप्तरीका अध्यक्ष श्रवणकुमार देव बताउँछन्। उनका अनुसार समाजको दबाबमा ऋण लिएर भोज गर्ने र त्यसपछि वर्षौँसम्म ऋण तिर्न नसकेर आर्थिक समस्यामा अल्झिने प्रवृत्ति अझै कायम छ।

मृत्यु भोजको नाममा परिवारले ऋणको भारी बोक्नुपर्ने अवस्था अन्त्य हुनुपर्ने उनको भनाइ छ। आर्थिक क्षमता नभएका परिवारलाई भोज गर्न दबाब दिनुभन्दा उनीहरूको अवस्थालाई बुझेर सहयोग गर्नुपर्ने आवश्यकता उनले औँल्याए।

परम्पराभन्दा मानवीय संवेदना महत्त्वपूर्ण
मृत्यु भोजलाई आफन्त तथा समुदायबीचको सम्बन्ध बलियो बनाउने परम्पराका रूपमा लिइन्छ। तर यही परम्परा सामाजिक दबाब र प्रतिस्पर्धाको माध्यम बन्दा यसको आर्थिक भार विपन्न परिवारले खेप्नुपरेको छ। भोज गर्न नसक्ने परिवारले समाजमा अपमानित हुनुपर्ने डरले ऋण लिनुपर्ने अवस्थाले यस परम्परामाथि पुनर्विचार गर्नुपर्ने देखिन्छ।

संस्कृति जोगाउने नाममा शोकमा रहेका परिवारलाई थप आर्थिक बोझ दिनु उचित हुँदैन। भोज गर्न सक्नेले स्वेच्छाले गर्न सक्छन्, तर नसक्ने परिवारलाई बाध्य पार्नु हुँदैन। मृतकका परिवारलाई भोज गर्न दबाब दिनुभन्दा उनीहरूको दुःखमा साथ दिने, आवश्यक सहयोग गर्ने र आर्थिक समस्याबाट जोगाउने संस्कार विकास गर्न आवश्यक छ।

परम्पराको उद्देश्य आपसी सद्भाव र सम्बन्ध बलियो बनाउनु हो भने त्यसले कसैलाई ऋणको पासोमा पार्नु हुँदैन। मृत्यु भोजलाई प्रतिष्ठा र प्रतिस्पर्धासँग जोड्ने प्रवृत्ति हटाउँदै स्वेच्छा र आर्थिक क्षमतालाई प्राथमिकता दिन सके मात्र यसका नाममा परिवारले वर्षौँसम्म ऋण तिर्नुपर्ने बाध्यता कम गर्न सकिन्छ।