
काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई उहाँका दाइ हरिशरण लामिछानेले विभिन्न पाँच विषयमा सुझाव दिएका छन्। दसैँका अवसरमा भाइ रविसँग गैरराजनीतिक भेटघाटका क्रममा विभिन्न विषयमा छोटो छलफल भएको उल्लेख गर्दै हरिशरणले सामाजिक सञ्जालमार्फत आफ्ना सुझाव सार्वजनिक गरेका हुन्।
हरिशरणले रास्वपाको वाचापत्रअनुसार प्रदेश संरचनाबारे स्पष्ट धारणा बनाउनुपर्ने सुझाव दिएका छन्। त्यस्तै, स्थानीय तहको निर्वाचन गैरदलीय आधारमा गराउने विषयमा पनि पार्टीले स्पष्ट दृष्टिकोण तय गर्नुपर्ने बताएका छन्।
उनले जलवायु परिवर्तनबाट उत्पन्न समस्याको दिगो समाधान खोज्नुपर्नेमा जोड दिएका छन्। नेपालको भौगोलिक बनोटअनुसार देशभर पोडवे निर्माणको सम्भावना अघि बढाउनुपर्ने उनको सुझाव छ। हेटौँडा–काठमाडौंको पुरानो रोपवेलाई आधुनिक पोडवेमा रूपान्तरण गर्न सके सडकमा सवारी चाप घटाउन र वातावरण संरक्षणमा सहयोग पुग्ने उनले बताएका छन्।
त्यसैगरी, भूमिगत जल पुनर्भरण योजना कार्यान्वयन गर्नुपर्ने र काठमाडौंको जलप्रवाह प्रणाली सुधार गर्नुपर्ने सुझाव पनि हरिशरणले दिएका छन्।
विपन्न तथा न्यून आय भएका नागरिकलाई निश्चित अनुपातमा निःशुल्क सुविधा उपलब्ध गराउनुपर्ने उनको भनाइ छ। सौर्य ऊर्जाको प्रयोगबाट घरपरिवारको आम्दानी बढाउन सकिने स्मार्ट मिटरिङ प्रणाली विकास गर्नुपर्ने अवधारणा पनि उनले अघि सारेका छन्।
हरिशरणले नेपालको आर्थिक, सामाजिक, राजनीतिक र भूराजनीतिक अवस्थालाई ध्यानमा राखेर राष्ट्रिय प्राथमिकता तथा रणनीति तय गर्नुपर्ने बताएका छन्। राजनीतिक स्थिरता, सुशासन, दिगो शान्ति र राष्ट्रिय प्रगतिका लागि सबै पक्षबीच सहमति आवश्यक रहेको पनि उनले उल्लेख गरेका छन्।
उनका सुझावमा राजनीतिक नीतिको स्पष्टता, पूर्वाधार विकास, वातावरण संरक्षण, सामाजिक सुरक्षा र राष्ट्रिय सहमतिका विषय समेटिएका छन्।








Facebook Comments