काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनका क्रममा क्षति पुगेको खुलामञ्चका संरचनाको मर्मत आफ्नै खर्चमा गर्ने भएको छ ।

सार्वजनिक पूर्वाधार र वातावरणीय संवेदनशीलताप्रति उच्च जिम्मेवारी दर्शाउँदै असोज १८ देखि २३ सम्म खुलामञ्चमा आयोजित महाधिवेशनका क्रममा पुगेको क्षतिलाई दृष्टिगत गरी खुलामञ्चलाई पुरानै सुन्दर र हराभरा अवस्थामा फर्काउन कांग्रेसले आफ्नै खर्चमा नयाँ दुबो रोप्ने तथा मर्मत सम्भार गर्न एक सेवा प्रदायक संस्थासँग सम्झौता गरेको हो ।

ad

काठमाडौं महानगरपालिकाको नियम र मापदण्डअनुसार खुलामञ्चलाई पूर्ववत् अवस्थामा फर्काउन कांग्रेसले सेवा प्रदायक संस्था माउन्ट एभरेस्ट स्पोर्टस् एन्ड इभेन्ट्स प्रालिलाई जिम्मेवारी दिएको छ ।

मर्मतसम्बन्धी सम्झौतापत्रमा कांग्रेस महाधिवेशनबाट वरिष्ठ उपसभापतिमा निर्वाचित विश्वप्रकाश शर्माको रोहवरमा कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलाल र माउन्ट एभरेस्ट इभेन्ट्सका प्रतिनिधि थमन भुसालले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार महाधिवेशनका क्रममा क्षति पुगेका खुलामञ्चभित्रका सम्पूर्ण भागहरूमा भूमि सम्याएर उच्च गुणस्तरको दुबो घाँस रोप्ने र प्राविधिक रेखदेखसहित त्यसको उचित स्याहार गरिनेछ । यस कार्यका लागि लाग्ने सम्पूर्ण आर्थिक भार तथा लागत नेपाली कांग्रेस स्वयम्‌ले ब्यहोर्ने सहमति भएको छ । 

पुनर्स्थापनाका लागि ४५ दिनको समयसीमा निर्धारण गरिएकोमा सुरुवाती १५ दिनभित्र दुबो रोप्ने कार्य सम्पन्न गरिनेछ भने बाँकी ३० दिन दुबो हुर्काउने, सिँचाइ गर्ने र पूर्ण रूपमा हराभरा बनाइने छ ।

दुबो रोप्ने एवं स्याहार संरक्षण गर्ने कार्यमा नेपाली कांग्रेस काठमाडौं महानगर समितिलाई कांग्रेस केन्द्रीय कार्यालयले स्वयम्‌सेवकको जिम्मेवारी सुम्पिएको छ । यसको संयोजन काठमाडौं महानगरका सभापति इन्जिनियर सुसन वैद्यले गर्नेछन् । काम पूर्ण रूपमा सम्पन्न भएपछि काठमाडौं महानगरपालिकाको मापदण्डअनुसार महानगरलाई बुझाउन योग्य अवस्थामा खुलामञ्च परिसर हस्तान्तरण गरिने भएको छ ।