
काठमाडौं । नेपाली कांग्रेसले दसैँको अवसरमा कोजाग्रत पूर्णिमाका दिन आयोजना गर्दै आएको चियापान समारोह आज पार्टीको राजनीतिक तथा सांस्कृतिक पहिचान बनेको छ। विभिन्न राजनीतिक दलका नेता, कूटनीतिज्ञ, पत्रकार, बुद्धिजीवी र सर्वसाधारणलाई एकै ठाउँमा भेला गराएर शुभकामना आदानप्रदान गर्ने यो परम्पराको सुरुवात भने राजनीतिक प्रतिबन्ध र दलहरूबीचको दूरी कम गर्ने प्रयाससँग जोडिएको छ।
कांग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद (बीपी) कोइरालाले २०३५ सालमा यो परम्परा सुरु गरेका थिए। राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्किएपछि राजनीतिक परिस्थितिका कारण सहज भेटघाट गर्न कठिनाइ भइरहेका बेला सार्वजनिक समारोहलाई संवादको माध्यम बनाउने उद्देश्यले चियापानको अवधारणा अघि सारिएको कांग्रेसका नेताहरू बताउँछन्।
बीपी कोइराला २०३३ साल पुस १६ गते लामो निर्वासन त्यागेर राष्ट्रिय मेलमिलापको नीति लिएर नेपाल फर्किएका थिए। स्वदेश फर्कनेबित्तिकै तत्कालीन सरकारले उनलाई पक्राउ गरी जेलमा राखेको थियो। स्वास्थ्य उपचारका लागि अमेरिका गएर फर्किएपछि पनि उनलाई पुनः कारागारमा राखिएको थियो।
त्यसपछि २०३५ साल भदौमा नेपाल फर्किएका बीपीलाई जेलमा नराखी तारेखमा छाडियो। यही समयदेखि उनले सार्वजनिक रूपमा भेटघाट गर्ने अवसर पाएका थिए।
बीपीले २०३५ सालको कोजाग्रत पूर्णिमाबाट चियापान समारोह सुरु गरेका थिए। यो कार्यक्रम दसैँको शुभकामना आदानप्रदान गर्ने माध्यम मात्र थिएन, राजनीतिक रूपमा अलग भएका नेताहरूलाई भेट्ने अवसर जुटाउने उपाय पनि थियो। बीपीको निवासको मूल गेटमा प्रहरीको गुप्तचर टोली खटिने भएकाले विभिन्न दलका नेताहरूसँग व्यक्तिगत रूपमा भेटघाट गर्न कठिन हुन्थ्यो। त्यसैले सार्वजनिक चियापान समारोह आयोजना गर्दा फरक राजनीतिक विचार राख्ने नेताहरूलाई एउटै स्थानमा भेट्ने अवसर मिल्थ्यो।
यही कार्यक्रममार्फत बीपीले डा. डिल्लीरमण रेग्मी, डा. केआई सिंह र टंकप्रसाद आचार्यजस्ता समकालीन नेताहरूसँग भेटघाट गर्ने वातावरण बनाएका थिए। चियापानमा कांग्रेसका नेताहरू मात्र नभई कम्युनिस्टलगायत अन्य राजनीतिक धारका व्यक्तिहरू पनि सहभागी हुन्थे। त्यहाँ नेताहरूबीच व्यक्तिगत भेटघाटसँगै राजनीतिक संवादसमेत हुन्थ्यो। टंकप्रसाद आचार्य र मनमोहन अधिकारी तथा डा. केआई सिंह र डा. रेग्मीबीच पनि भेटघाट हुन्थ्यो ।
त्यस समयको राजनीतिक वातावरणमा फरक विचार राख्ने नेताहरूलाई एकअर्कासँग भेट्ने अवसर दिनु आफैँमा महत्त्वपूर्ण कदम थियो। सार्वजनिक समारोहका कारण राजनीतिक संवादका लागि ठाउँ बनेको र आपसी अविश्वास घटाउन सहयोग पुगेको कांग्रेसका नेताहरूको बुझाइ छ।
चियापान समारोहको मूल उद्देश्य राजनीतिक दलहरूबीचको तिक्तता घटाउनु र संवादको वातावरण तयार गर्नु थियो। पञ्चायती व्यवस्थामा राजनीतिक दलहरूमाथि प्रतिबन्ध रहेका बेला सत्ता र राजनीतिक दलहरूबीच दूरी थियो। यस्तो अवस्थामा सबै पक्षलाई निमन्त्रणा गरेर भेटघाट गराउने अभ्यासले राजनीतिक सहिष्णुताको सन्देश दिन खोजेको थियो।
चियापानमा सत्तापक्ष र प्रतिपक्षका नेता, विभिन्न राजनीतिक दलका प्रतिनिधि, कूटनीतिज्ञ, सुरक्षा निकायका प्रमुख, सञ्चारकर्मी, बुद्धिजीवी तथा सर्वसाधारणलाई आमन्त्रण गर्ने गरिन्छ। दसैँको शुभकामना आदानप्रदानको अवसरलाई राजनीतिक मतभिन्नताभन्दा माथि उठेर संवाद गर्ने माध्यम बनाउने यसको विशेषता हो।
बीपी कोइरालाको निधनपछि पनि नेपाली कांग्रेसले चियापानको परम्परालाई निरन्तरता दियो। गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला र शेरबहादुर देउवाको नेतृत्वकालमा पनि यो कार्यक्रमले निरन्तरता पाएको थियो।
बहुदलीय व्यवस्था पुनःस्थापित भएपछि चियापान समारोहको स्वरूप अझ विस्तारित हुँदै गयो। २०६२/६३ को जनआन्दोलन र गणतन्त्र स्थापनापछि पनि यसले राजनीतिक भेटघाट तथा शुभकामना आदानप्रदानको साझा मञ्चका रूपमा आफ्नो स्थान कायम राख्यो।
राजनीतिक उतारचढाव, सरकार परिवर्तन र दलहरूबीचका विवादका बाबजुद कांग्रेसले यस परम्परालाई चार दशकभन्दा बढी समयसम्म अघि बढाएको छ। यद्यपि, विशेष परिस्थितिमा कार्यक्रम स्थगित भएका उदाहरण पनि छन्। कोभिड–१९ महामारीका बेला चियापान आयोजना गरिएको थिएन भने गत वर्ष पनि कांग्रेसले कार्यक्रम गरेन।
दसैँका अवसरमा चियापान र शुभकामना आदानप्रदान गर्ने अभ्यास कांग्रेसमा मात्र सीमित रहेन। नेकपा एमाले र तत्कालीन नेकपा माओवादीसहित अन्य राजनीतिक दलहरूले पनि यस्ता कार्यक्रम आयोजना गर्न थाले।
यसले दसैँलाई धार्मिक तथा पारिवारिक पर्वका रूपमा मनाउने परम्परासँगै राजनीतिक भेटघाटको अवसरका रूपमा पनि स्थापित गर्न मद्दत गरेको छ।
कांग्रेसका नेताहरूका दृष्टिमा चियापान समारोहको महत्त्व चिया खुवाउने वा शुभकामना दिने औपचारिकतामा मात्र सीमित छैन। फरक राजनीतिक विचार भएका व्यक्तिहरूलाई एउटै ठाउँमा भेट्ने, संवाद गर्ने र असहमतिका बाबजुद सम्बन्ध कायम राख्ने संस्कार यसको मूल पक्ष हो।
राजनीतिमा आरोप–प्रत्यारोप र निषेधको प्रवृत्ति बढेको चर्चा भइरहेका बेला बीपीले सुरु गरेको यो अभ्यासको सान्दर्भिकता अझै रहेको कांग्रेसका नेताहरूको तर्क छ। राजनीतिक मतभेद कायम रहे पनि संवादका ढोका खुला राख्न सकिन्छ भन्ने सन्देश नै कांग्रेसको चियापान परम्पराको ऐतिहासिक आधार बनेको छ।








Facebook Comments