काठमाडौं । बुढीगण्डकी नदीमा आएको भीषण बाढीबाट प्रभावित ११ जना विदेशी नागरिकसहित ७६ जनाको नेपाली सेनाले उद्धार गरेको छ। बाढीका कारण सडक सम्पर्क विच्छेद भएका तथा दुर्गम क्षेत्रमा रहेका बस्तीमा राहत पुर्‍याउन सेनाले करिब ३ हजार ९६० किलोग्राम खाद्यान्न तथा अत्यावश्यक सामग्रीसमेत ढुवानी गरेको छ।

गत असोज २५ गते आएको बाढीपछि प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई नेपाली सेनाले तीव्रता दिएको हो। सेनाको टोली हवाई तथा स्थलमार्गबाट परिचालित भई जोखिममा परेका नागरिकको उद्धार र राहत व्यवस्थापनमा जुटिरहेको छ।

ad

नेपाली सेनाका अनुसार बिहीबार एमआई–१७ हेलिकप्टर तथा स्थलमार्गबाट खटिएको टोलीले फिलिम, छेकम्पार र आरुघाटलगायतका प्रभावित क्षेत्रबाट ७६ जनालाई सकुशल उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरेको हो। उद्धार गरिएकामध्ये ११ जना विदेशी नागरिक रहेका छन्।

बाढीका कारण सडक यातायात अवरुद्ध हुँदा दुर्गम बस्तीमा खाद्यान्न तथा अन्य अत्यावश्यक सामग्रीको अभाव हुन नदिन सेनाले हवाईमार्गबाट राहत ढुवानीलाई पनि प्राथमिकता दिएको छ। यस क्रममा प्रभावित क्षेत्रका विभिन्न स्थानमा कुल ३ हजार ९६० किलोग्राम खाद्यान्न तथा राहत सामग्री पुर्‍याइएको सेनाले जनाएको छ।

उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन नेपाली सेनाले स्थानीय प्रशासन र अन्य सुरक्षा निकायसँग समन्वय गरिरहेको छ। प्रभावित क्षेत्रमा आवश्यकताअनुसार खोज, उद्धार तथा राहत वितरण कार्यलाई निरन्तरता दिइने सेनाले जनाएको छ।