काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रहरीलाई आगामी दिनमा हुनसक्ने सम्भावित विपद् सामना गर्न अझ सक्षम बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।    

एकहत्तरौँ प्रहरी दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै प्रधानमन्त्री शाहले सधैँ अग्रभागमा खटिएर जनताको सेवा गर्ने प्रहरीलाई सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई सरकारले प्राथमिकता दिएको उल्लेख गरे । 

ad

उनले प्रहरी कर्मचारी, आश्रित परिवार र सर्वसाधारणको स्वास्थ्य सेवालाई मध्यनजर गर्दै सरकारले नेपाल प्रहरी अस्पताललाई मेडिकल कलेजका रूपमा विकास गर्ने योजना बनाएको समेत जानकारी दिए । 

प्रधानमन्त्री शाहले कर्तव्य पालनाको सिलसिलमा हालैको भोटेकोशी–त्रिशूलीको विपद् तथा विभिन्न कालखण्डमा अमरत्व प्राप्त गर्नुभएको प्रहरीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् । 

उनले कर्तव्य निर्वाहका सिलसिलामा घाइते र अशक्त हुनुभएका प्रहरीको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरे । “हामी ‘विपद्मा सारथी, सङ्कटमा छहारी, प्रविधि प्रविधियुक्त नेपाल प्रहरी’ भन्ने नाराका साथ ७१औँ प्रहरी दिवस मनाइरहेका छौँ । कार्यक्रममा विमोचन हुने ‘पुलिस मिरर–२०८३’ ले नेपाल प्रहरीको इतिहास र वर्तमानलाई भविष्यको पुस्तासँग जोड्ने र सङ्गठनको सम्झनालाई ताजा राखिरहने अपेक्षा छ”, शुभकामना सन्देशमा प्रधानमन्त्री शाहले  भनेका छन् । 

पछिल्लो समय बढ्दै गएको वित्तीय र साइबर अपराध रोकथाम र नियन्त्रणमा सरकार गम्भीर रहेको प्रधानमन्त्रीको भनाइ थियो । यसका लागि नेपाल प्रहरीको सहकार्यमा राष्ट्र बैङ्क, इन्टरनेट र टेलिकम सेवा प्रदायक तथा डिजिटल वालेटलाई एक ठाउँमा ल्याई नागरिकका गुनासा थप प्रभावकारी ढङ्गले सम्बोधन गर्ने व्यवस्था भइरहेको उल्लेख गर्दै प्रधानमन्त्रीले कृत्रिम बुद्धिमत्ता (एआई), ‘एरियल सेक्युरिटी एण्ड सपोर्ट युनिट’ र ‘इन्टिग्रेटेड एन्टिस्काम सेन्टर’ स्थापनाको तयारी भइरहेको पनि बताए ।


प्रधानमन्त्री शाहले नेपाल प्रहरीलाई विपद् व्यवस्थापन, प्रविधि विस्तार र पूर्वाधार निर्माणमा सहयोग गर्ने मित्रराष्ट्र र अन्तर्राष्ट्रिय विकास साझेदारलाई धन्यवादसमेत व्यक्त गरे ।