
काठमाडौं केवल कंक्रिटको भूगोल र प्रशासनिक संरचना मात्र होइन, यो त देशको चेतना, राजनीति र इतिहासको गति निर्धारण गर्ने मुख्य नाडी हो । यही नाडीको कम्पन बुझ्न नसक्दा वा सहरी नागरिकको तीव्र आकांक्षा र असन्तोषलाई उपेक्षा गर्दा, लामो समयदेखि काठमाडौंमा पुरानो राजनीतिक विरासत बोकेका दलहरूको जग हल्लिएको छ । सुशासनको खोजी, दण्डहीनताविरुद्धको आक्रोश र नातावाद-कृपावादप्रतिको वितृष्णाले काठमाडौंका सडक र मतपेटीकाबाट आमजनताले परिवर्तनको सन्देश दिइसकेका छन् । यस्तै राजनीतिक र सांगठनिक संक्रमणको घडीमा नेपाली कांग्रेस काठमाडौं महानगर समितिको नेतृत्वमा एक फरक र परिपक्व युवा अनुहारको आगमन भएको छ-सुशन वैद्य।
पेसाले आर्किटेक्ट इन्जिनियर वैद्य कुनै शक्ति केन्द्रको निगाह वा रातारातको राजनीतिक जोडघटाउबाट अहिलेको महानगर सभापति पदमा पुगेका होइनन् । विद्यार्थीकालदेखि नै नेपाल विद्यार्थी संघमार्फत संगठनको जगमा खटिएका उनी पेसागत दक्षता र राजनीतिक निष्ठालाई समानान्तर रूपमा अघि बढाउने ‘नयाँ पुस्ता’का प्रतिनिधि हुन् । अझ महत्त्वपूर्ण कुरा, रानीपोखरी, खुलामञ्च र कमलपोखरीजस्ता काठमाडौंका ऐतिहासिक तथा पुरातात्विक सम्पदा जोगाउन नागरिक अभियन्ताका रूपमा सडकमा ओर्लेर खबरदारी गर्ने खरो र निर्भीक व्यक्तित्वका रूपमा पनि उनी स्थापित छन् ।
प्राविधिक ज्ञान, सम्पदा संरक्षणको नागरिक संवेदना र राजनीतिक जिम्मेवारीलाई एउटै लयमा ढाल्दै गरेका वैद्यसँग अहिले काठमाडौं महानगरमा संगठनको साख फर्काउने, युवा पुस्तालाई उद्यमशीलतासँग जोड्ने र राजनीतिलाई जीविकोपार्जनको धन्दा होइन, विशुद्ध सेवाको माध्यम बनाउने गम्भीर चुनौती र अवसर दुवै छ ।
काठमाडौंको सहरी विकास, बिग्रँदो सांगठनिक साखको पुनर्जागरण, पार्टी विधानभित्र युवा र पेसागत वर्गको प्रतिनिधित्व, भ्रातृ संस्थाहरूको पुनरुत्थान र आगामी १५औँ महाधिवेशनपछिको कांग्रेसको वैचारिक दिशाका विषयमा वैद्यसँग पत्रकारमुक्तिबाबु रेग्मीले गरेको कुराकानीको सम्पादित अंश :
महानगर सभापतिमा सर्वसम्मत निर्वाचित हुनुभएकोमा बधाई छ । प्राविधिक पेसा र राजनीतिबीचको सन्तुलन कसरी मिलाउँदै हुनुहुन्छ ?
धन्यवाद । तपाईंले सोध्नुभएको यो प्रश्न अत्यन्त समसामयिक छ । तर यसलाई म केवल ‘समय वा पेसाको सन्तुलन’ मिलाउने प्राविधिक विषयभन्दा पनि जीवनलाई कुन दृष्टिकोणले हेर्ने, कसरी बुझ्ने र कसरी आफ्नो निष्ठालाई समर्पण गर्ने भन्ने आधारभूत जीवन दर्शनका रूपमा लिन्छु । म रातारात वा कुनै जादुई ढंगले पार्टीको जिम्मेवार पदमा पुगेको होइन । हिजो विद्यार्थी जीवनमा इन्जिनियरिङ अध्ययन गर्दै गर्दा पनि म नेपाल विद्यार्थी संघमार्फत राजनीतिमा उत्तिकै सक्रिय र क्रियाशील थिएँ । अध्ययन, पेसागत तयारी र विद्यार्थी राजनीतिलाई मैले सधैँ समानान्तर रूपमा अगाडि बढाएँ । प्राविधिक अध्ययन सकिएपछि व्यावसायिक रूपमा काम गर्दा पनि राजनीति मेरो जीवनको अभिन्न अंग बनिरह्यो । त्यसैले आज मेरा लागि कुनै नौलो वा असजिलो परिस्थिति होइन । हामीले स्पष्टसँग के बुझ्न आवश्यक छ भने- राजनीति हाम्रो जीविकोपार्जन गर्ने पेसा होइन । जीवनयापनका लागि मानिसलाई एउटा मर्यादित पेसा, व्यवसाय, श्रम वा उद्यम चाहिन्छ, तर समाजको सेवा, थिति बसाल्ने काम र राष्ट्रप्रतिको दायित्वका लागि राजनीति चाहिन्छ । राजनीति भनेको पूर्ण समर्पण, त्याग र निष्ठाको सेवा हो । जब तपाईं राजनीतिलाई आम्दानी वा जीविकोपार्जनको माध्यम बनाउनुहुन्न, तब पेसा र राजनीतिलाई समानान्तर रूपमा लैजान कुनै कठिनाइ हुँदैन । हिजो पनि यो सम्भव थियो, आज पनि छ र भोलि पनि रहनेछ । हामीले हाम्रो सोच्ने शैलीमा परिवर्तन ल्याउनुपर्छ । जब एउटा इन्जिनियर, डाक्टर, वकिल वा प्राध्यापक राजनीतिमा आउँछ, उसले आफ्नो पेसागत अनुभव र प्राविधिक ज्ञानलाई नीति निर्माणमा ढाल्न सक्छ । यसले राजनीतिलाई अझ बढी परिपक्व, तथ्यमा आधारित र परिणाममुखी बनाउन मद्दत गर्छ । त्यसैले पेसा र राजनीतिबिच कुनै द्वन्द्व छैन, बरु यी दुवै एकअर्काका पूरक हुन् ।
कांग्रेसभित्र नयाँ पुस्ताको प्रवेश र रूपान्तरणको प्रक्रिया अलि कठिन छ भन्निछ नि ?
पञ्चायतकाल वा प्रतिबन्धित समयमा पक्कै पनि निकै कठिन र चुनौतीपूर्ण थियो । विगतमा हामीजस्ता प्राविधिक वा व्यावसायिक पृष्ठभूमिबाट आएका मानिसहरू राजनीतिमा आउँदा हेर्ने दृष्टिकोण अलि फरक हुन्थ्यो । धेरैले सोध्ने गर्थे- ‘तपाईंहरू त काम गर्ने मान्छे, व्यवसायी मान्छे, पूर्णकालीन राजनीति गर्ने साथीहरूले जति समय र कमिटमेन्ट पार्टीलाई दिन सक्नुहुन्छ र ?’ तर आजको आधुनिक समयमा त्यो प्रश्न पूर्णतः असान्दर्भिक भइसकेको छ । हिजो पार्टी प्रतिबन्धित हुँदा आफ्ना व्यवसाय गरेर राजनीति गर्न सम्भव नै थिएन । त्यो बेला पार्टीलाई सय प्रतिशत समय दिने, अरू कतै संलग्नता नभएका पूर्णकालीन राजनीतिक कार्यकर्ता नै चाहिन्थ्यो । हाम्रा आदरणीय अग्रजहरूले त्यो कठिन समयमा आफ्नो जीवन पूर्ण रूपमा समर्पित गरेरै देशमा लोकतन्त्र ल्याउनुभयो । उहाँहरूको त्यो अभूतपूर्व त्यागप्रति हामी सधैँ नतमस्तक छौँ । तर, आज परिस्थिति परिमार्जित भएको छ । आजको खुला लोकतान्त्रिक व्यवस्थामा मानिस कुनै न कुनै पेसा, व्यवसाय वा उद्यममा जोडिएर पनि पार्टीको राजनीतिमा उत्तिकै प्रभावकारी रूपमा लाग्न सक्छ । आज कांग्रेसभित्र जोडिनुभएका नयाँ पुस्ताका अधिकांश साथीहरू कुनै न कुनै उद्यम वा पेसामार्फत आत्मनिर्भर भएर नै राजनीतिमा सक्रिय हुनुहुन्छ । अबको राजनीति यसरी नै अघि बढ्नुपर्छ । हामीले बुझ्नुपर्छ कि पुरानो पुस्ताको अनुभव र नयाँ पुस्ताको नवीन सोचबिचको संयोजन नै वास्तविक रूपान्तरण हो । कांग्रेसभित्र रूपान्तरण भनेको पुरानालाई पूर्णतः विस्थापित गर्ने होइन, उहाँहरूको योगदानको सम्मान गर्दै नयाँ विचार, प्रविधि र कार्यशैलीलाई समावेश गराउने हो । आजको युवा पुस्ता पार्टीभित्र आफ्नो स्थान र भूमिकाका लागि सक्षम छ र विधानमै गरिएका नयाँ व्यवस्थाहरूले यसलाई अझ सहज बनाएका छन् ।
राजनीतिकर्मी आफैँ आत्मनिर्भर हुनुपर्छ भन्ने सन्देश दिन खोज्नुभएको हो ?
बिल्कुल, यो सन्देश आजको राजनीतिक नेतृत्वले प्रस्टसँग दिनैपर्छ । राजनीति भनेको अरूसँग मागीखाने वा कार्यकर्ता पालेर गरिने धन्दा बन्नु हुँदैन । यदि आजको आधुनिक युगमा पनि कसैले ‘म पूर्णकालीन राजनीति मात्र गर्छु, अरू केही गर्दिनँ’ भन्छ भने उसले आफ्ना दैनिक आवश्यकता पूरा गर्न कि त अपारदर्शी बाटो अपनाउनुपर्छ, कि त राजनीतिलाई नै आम्दानीको स्रोत बनाउनुपर्ने बाध्यता आउँछ । हामीले समाजमा खोजेको वास्तविक रूपान्तरण र पारदर्शी शासनव्यवस्था हो भने राजनीतिकर्मी आर्थिक रूपमा पूर्णतः आत्मनिर्भर हुनैपर्छ । दैनिक जीवनयापनको व्यवस्थापन राजनीतिबाहिरको उद्यम, पेसा वा श्रमबाट हुनुपर्छ । जब नेता वा कार्यकर्ता आर्थिक रूपमा कसैको सामु झुक्नु पर्दैन, तब मात्र उसले निर्भीक भएर नीतिगत भ्रष्टाचार, दण्डहीनता र गलत परिपाटीविरुद्ध लड्न सक्छ । त्यसैले अबको कांग्रेसमा उद्यमशीलता र राजनीतिक निष्ठालाई सँगसँगै अगाडि बढाउनुपर्छ । हामी हाम्रा युवा कार्यकर्ता साथीहरूलाई सधैँ एउटै कुरा भन्छौँ- पहिले आफ्नो खुट्टामा उभिनुहोस्, आर्थिक रूपमा सबल बन्नुहोस् अनि राजनीतिमा आउनुहोस् । जब एउटा युवा आर्थिक रूपमा स्वतन्त्र हुन्छ, उसलाई कसैको चाप्लुसी गर्नुपर्दैन । उसले विवेकको प्रयोग गरेर निर्णय लिन सक्छ । पार्टीभित्र स्वस्थ आन्तरिक लोकतन्त्र कायम गर्न पनि स्वावलम्बी र उद्यमशील कार्यकर्ताको उपस्थिति अनिवार्य हुन्छ ।
सम्पदा बचाउने अभियन्ता र काठमाडौं महानगर सभापतिको भूमिकाबीच कहिल्यै द्वन्द्व हुँदैन ?
तपाईंको प्रश्न अत्यन्त गम्भीर र मन्नीय छ । तर यसलाई म अलि फरक ढंगले विश्लेषण गर्छु । हिजो हामी जब सडकमा अभियन्ताका रूपमा ओर्लिएका थियौँ, त्यो बेला हामी पार्टीको नीति निर्माण वा निर्णय प्रक्रियाको कार्यकारी पदमा थिएनौँ । हाम्रा नागरिकका आवाजहरू सत्ता र पार्टीका माथिल्ला निकायसम्म सिधै पु¥याउने संयन्त्र नभएकाले नै हामीले सडकमा बसेर खबरदारी गर्नुपरेको हो । आज म पार्टीको महानगर सभापति हुनुको अर्थ के हो भने- हिजो सडकबाट उठाएका तिनै नागरिकका आवाज, सम्पदा संरक्षणका मुद्दा र सार्वजनिक हितका विषयहरूलाई अब सिधै पार्टीको मूलधारको नीति र एजेन्डा बनाउने ढोका खुलेको छ । हिजो हामीले रानीपोखरी बचाउने वा कमलपोखरीमा ढलान रोक्ने अभियान चलाउँदा पार्टीले त्यसलाई अत्यन्त सकारात्मक रूपमा लिएको थियो । हाम्रा जनप्रतिनिधि र सांसदहरूले ती मुद्दाहरूलाई संसद् र सार्वजनिक मञ्चहरूमा बुलन्द रूपमा उठाउनुभयो । पार्टीले ती नागरिक मुद्दाहरूलाई आफ्नै मुद्दाका रूपमा स्वीकार ग¥यो । त्यसैले अब म सभापति भएपछि नागरिकका मुद्दा र पार्टीको लाइनमा कुनै टकराव हुने स्थिति आउँदैन । नागरिकका जनसरोकारका विषयलाई पार्टीको आधिकारिक एजेन्डा बनाउने र सरकार तथा सम्बन्धित निकायबाट तिनको दीर्घकालीन समाधान खोज्ने काम मेरो हुनेछ । हामीले नागरिकका रूपमा सडकमा ओर्लिनुपर्ने अवस्था आउनुभन्दा अघि नै पार्टी संयन्त्रमार्फत त्यसको समाधान निकाल्न हामी निरन्तर क्रियाशील रहनेछौँ । नागरिक आन्दोलन र राजनीतिक दल फरक कुरा होइनन् । दलहरू भनेकै नागरिकका आकांक्षा र आवश्यकतालाई राज्यको नीतिमा रूपान्तरण गर्ने माध्यम हुन् । जब दलहरू नागरिकका वास्तविक मुद्दाभन्दा टाढा जान्छन्, तब मात्र नागरिक आन्दोलनको जन्म हुन्छ । यदि हामीले पार्टीभित्रै नागरिकका मुद्दालाई प्राथमिकताका साथ उठायौँ र समाधान गर्यौँ भने सडकमा ओर्लिनुपर्ने बाध्यतै रहँदैन ।
काठमाडौंमा कांग्रेसको खस्कँदो साखलाई पुनः कसरी फर्काउनुहुन्छ ?
तपाईंले एकदमै निर्मम र यथार्थपरक कुरा उठाउनुभयो । काठमाडौंमा कांग्रेसको साख वा विरासत खस्कनु कुनै एकै रातमा भएको घटना होइन । पछिल्लो लामो समयदेखि जनस्तरमा, खासगरी युवा पुस्तामा सञ्चित हुँदै गएको असन्तोषको परिणाम हो । पारदर्शिताको कमी, दण्डहीनता, भ्रष्टाचार र निर्णय प्रक्रियामा पारदर्शिता नहुँदा योग्यता भएका साथीहरूले अवसर नपाउने, अनि नातावाद र कृपावादले प्रसय पाउने परिपाटीका कारण युवाहरूमा ठूलो निराशा छायो । आजको सहरी युवा प्रविधिसँग जोडिएको छ । विश्वभर कहाँ के भइरहेको छ, कस्तो सुशासन छ भन्ने कुराको जानकारी उसलाई सहजै उपलब्ध छ । हिजोको जस्तो सूचनाको शून्यतामा आजको युवालाई अल्झाउन सकिँदैन । काठमाडौंलगायत सहरी क्षेत्रमा पुराना दलहरूप्रति देखिएको वितृष्णा वास्तवमा लोकतन्त्र वा पार्टी पद्धतिकै विरुद्धमा होइन, त्यो त नेताहरूका कामगराइ, ढिलासुस्ती र अवसरको असमान वितरणप्रतिको जनआक्रोश हो । हामीले यो निराशा र असन्तोषलाई नजिकबाट अध्ययन गरेका छौँ । यो आक्रोश पार्टीप्रतिको स्थायी घृणा होइन, सुशासन र रूपान्तरणका लागि युवाहरूले दिएको गम्भीर चेतावनी हो । त्यसैले हामीले पार्टीभित्र ठूलो संघर्ष गरेर विधानमै ऐतिहासिक परिवर्तन ल्याएका छौँ । अबको हाम्रो योजना भनेको केवल आकर्षक नारा दिने होइन, व्यवहारमै नेतृत्व र अवसरको पारदर्शी हस्तान्तरण गर्ने हो । काठमाडौंका जनताले खोजेको सुशासन, सम्पदाको जगेर्ना, आधुनिक पूर्वाधार र डेलिभरी हो, जुन हामी नयाँ दृष्टिकोणका साथ काठमाडौंवासीसमक्ष लिएर जानेछौँ । हामी काठमाडौंमा कांग्रेसको पकड पुनः स्थापित गर्नका लागि तल्लो तहका नागरिकसँग प्रत्यक्ष संवाद सुरु गर्दै छौँ । प्रत्येक वडा र टोलमा पुगेर नागरिकका समस्या सुन्ने, उनीहरूका सुझावलाई नीतिगत रूपमा सम्बोधन गर्ने र पार्टीलाई जनउत्तरदायी बनाउने काममा हामी लाग्नेछौँ । काठमाडौंवासीले फेरि पनि कांग्रेसलाई नै आफ्नो भरपर्दो लोकतान्त्रिक विकल्पका रूपमा देख्ने वातावरण हामी निर्माण गर्नेछौँ ।
पार्टी विधानमा युवा र पेसागत वर्गका लागि के-कस्ता नयाँ व्यवस्थाहरू गरिएका छन् ?
हामीले यस पटक पार्टी विधानमा क्रान्तिकारी संशोधन गरेका छौँ । अब ३५ वर्षमुनिका युवाहरूलाई पार्टीको नेतृत्व र नीति निर्माणमा अनिवार्य रूपमा जोड्ने स्पष्ट वैधानिक व्यवस्था गरिएको छ । वडा तहदेखि क्षेत्रीय महाधिवेशन प्रतिनिधिसम्ममा एक महिलासहित कम्तीमा तीन जना युवाहरूको सहभागिता अनिवार्य गराइएको छ । उनीहरूका लागि केन्द्रीय समितिसम्म पुग्ने ढोका खुल्ला गरिएको छ । दोस्रो महत्त्वपूर्ण कुरा, समाजमा रहेका प्राविधिक तथा बौद्धिक व्यक्तित्वहरू-डाक्टर, इन्जिनियर, प्राध्यापक, वकिल, पत्रकारजस्ता पेसागत क्षेत्रका उत्कृष्ट प्रतिभाहरूलाई सिधै पार्टीको नीति निर्माणमा ल्याउन प्रत्येक क्षेत्रबाट एकजना पेसागत प्रतिनिधिलाई महाधिवेशन प्रतिनिधि बनाउने व्यवस्था गरेका छौँ । उनीहरूका लागि केन्द्रीय समितिमा पनि विशेष आरक्षण र स्थान सुरक्षित गरिएको छ । यसको दूरगामी अर्थ छ । अब नेपाली कांग्रेसले देश र समाजलाई पुरानै परम्परागत राजनीतिक चस्माबाट मात्र होइन, युवा र बौद्धिक पेसागत समुदायको आधुनिक चस्माबाट हेर्नेछ । जब पार्टीको उच्च नेतृत्वमै यी वर्गको सहज पहुँच हुन्छ, तब दण्डहीनता अन्त्य गर्ने, पारदर्शी शासन कायम गर्ने र सहरी विकासका आधुनिक मोडलहरू कार्यान्वयन गर्ने नयाँ तरिकाहरू स्वतः स्थापित हुन्छन् ।
यस विधान संशोधनले कांग्रेसलाई समावेशी, आधुनिक र प्रविधिमैत्री पार्टी बनाउन ठूलो योगदान पु¥याउनेछ । यसले पार्टीलाई केबल परम्परागत कार्यकर्ताको घेराबाट बाहिर निकालेर समाजका विविध क्षेत्रका विज्ञहरूलाई जोड्ने पुलको काम गर्नेछ ।
काठमाडौंको विकास र समस्या समाधानका लागि तपाईंको दृष्टिकोण के छ ?
पार्टी नेतृत्व र राज्य दुवैले काठमाडौंलाई हेर्ने दृष्टिकोण र लेन्स नै बदल्नुपर्छ भन्ने मेरो पहिलो र मुख्य अडान हो । काठमाडौंलाई कुनै दूरदराजको पालिकासँग तुलना गरेर एउटै तराजुमा राख्न मिल्दैन । काठमाडौं देशकै राजधानी हो, आठ लाखभन्दा बढी रैथाने र उत्तिकै संख्यामा देशका ७७ वटै जिल्लाबाट रोजगारी, शिक्षा, स्वास्थ्य र अवसरको खोजीमा आएका दाजुभाइ-दिदीबहिनीको साझा संगमस्थल हो । त्यसैले काठमाडौंलगायतका महानगरपालिकालाई पार्टी र राज्य दुवै संयन्त्रले ‘विशेष क्षेत्र’का रूपमा वर्गीकरण गरेर हेर्नुपर्छ । आज काठमाडौंमा सामान्य पानी पर्दा आउने सहरी बाढी, फोहोर व्यवस्थापनको समस्या, यातायातको अस्तव्यस्तता र वातावरणीय प्रदूषण कुनै एउटा वडा वा महानगरपालिकाको एकल स्रोतसाधनले मात्र समाधान गर्न सक्दैन । देशका अन्य स्थानबाट काठमाडौं आएर बसेका नागरिकको समस्या समाधान गर्ने दायित्व महानगरको मात्र होइन, सिंगो राज्यको हो । यसका लागि केन्द्रीय स्रोत र एकीकृत गुरुयोजना चाहिन्छ । हामी काठमाडौंलाई केवल कंक्रिटको सहर होइन, यसको मौलिक सांस्कृतिक पहिचान, पुरातात्त्विक सम्पदा र आधुनिक प्रविधिसहितको सुरक्षित एवं बस्नयोग्य सहर बनाउन नीतिगत पहल र निरन्तर दबाब सिर्जना गर्नेछौँ । काठमाडौंको दिगो विकासका लागि प्राविधिक अध्ययन र दीर्घकालीन योजना आवश्यक छ । सहरी पूर्वाधार निर्माण गर्दा यहाँको वातावरण, कला, संस्कृति र जैविक विविधतालाई ध्यानमा राख्नुपर्छ । हामी काठमाडौंलाई केवल भौतिक सुविधायुक्त सहर मात्र होइन, सांस्कृतिक रूपमा धनी र वातावरणीय रूपमा स्वच्छ सहर बनाउने अभियानमा छौँ ।
नेविसंघ र तरुण दलजस्ता भ्रातृसंस्थालाई कसरी ब्युँताउनुहुन्छ ?
विगतमा नेपाल विद्यार्थी संघ र तरुण दलको समयमै महाधिवेशन हुन सकेन । नेतृत्व लामो समयसम्म एउटै ठाउँमा रोकिएर बस्यो । माथिल्ला नेताहरूसँग निकटता भएकाहरूले मात्र अवसर पाउने तर तल्लो तहबाट नेतृत्वको प्राकृतिक विकास नहुने परिपाटीले संस्थाहरू थलिँदै गएका हुन् । तर पछिल्लो समय धादिङको बाढीपहिरो वा अन्य प्राकृतिक विपद्का बेला जसरी तरुण दल र नेविसंघका साथीहरू कुनै प्रचारबाजी नगरी, झन्डा र टोपीको देखावटी नगरी लगातार दिनरात खटिएर अस्पतालहरू सफा गर्ने, पीडितलाई राहत र उद्धारमा मद्दत गर्ने काममा लागे, त्यसले पुनर्जागरणको सकारात्मक संकेत गरेको छ । तथापि, यो तदर्थ सक्रियता मात्र पर्याप्त छैन । भ्रातृ संस्थाहरूलाई वास्तविक रूपमा ब्युँताउने एउटै मात्र निर्विकल्प उपाय हो- समयमै लोकतान्त्रिक महाधिवेशन ! अहिले नेविसंघ र तरुण दलको नेतृत्वमा आउनुभएका साथीहरूको मुख्य जिम्मेवारी भनेकै निश्चित समयभित्र पारदर्शी रूपमा महाधिवेशन गराएर नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नु हो । नियमित आवधिक निर्वाचन र महाधिवेशनबिच यी संस्थाहरूमा पहिलेको जस्तो क्रान्तिकारी ऊर्जा र आकर्षण फर्काउन असम्भव छ । भ्रातृसंस्थाहरूलाई केबल राजनीतिक नारा लगाउने मञ्च बनाउनु हुँदैन । उनीहरूलाई सामाजिक सेवा, शैक्षिक सुधार, युवा उद्यमशीलता र विपद् व्यवस्थापनमा सक्रिय गराउनुपर्छ । जब भ्रातृ संस्थाहरू नागरिकका दैनिक समस्यासँग जोडिन्छन्, तब मात्र समाजमा उनीहरूको महत्त्व र आवश्यकता पुनरागमन हुन्छ ।
युवालक्षित विशेष योजना के छन् र १५औँ महाधिवेशनपछि कांग्रेस कस्तो बन्नेछ ?
हामीले यसमा गम्भीरतापूर्वक गृहकार्य गरिसकेका छौँ । हामीसँग जोडिन चाहने जुनसुकै युवालाई हाम्रो पहिलो स्पष्ट भनाइ हुनेछ- ‘पहिले आफ्नो स्वरोजगार, उद्यम वा पेसालाई सुदृढ बनाउनुहोस् ।’ हामी पार्टीमा जोडिने युवा साथीहरूलाई आफ्नो ५० प्रतिशत समय जीविकोपार्जन र उद्यमशीलतामा तथा बाँकी ५० प्रतिशत समय मात्र पार्टी र सामाजिक सेवामा लगाउन प्रेरित गर्छौं । महानगर कांग्रेसले युवाहरूलाई केवल नारा लगाउने वा झन्डा बोक्ने कार्यकर्ता बनाउने छैन । उनीहरूका लागि हामी एउटा विशेष उद्यमशीलता र सीप विकास संयन्त्र गठन गर्नेछौँ । यसले युवाहरूलाई व्यावसायिक सञ्जाल, आधुनिक तालिम र प्रविधिसँग जोडेर ‘रोजगारी खोज्ने होइन, रोजगारी सिर्जना गर्ने’ उद्यमी बन्न पूर्ण सहयोग गर्नेछ । जहाँसम्म आगामी १५औँ महाधिवेशनपछिको कांग्रेसको कुरा छ- अबको कांग्रेस वि.सं. २०१५ सालको जस्तै वैचारिक रूपमा सुस्पष्ट, ऊर्जाशील, विचारयुक्त, सबल र आत्मनिर्भर कांग्रेस हुनेछ । यो कसैको सहारामा चल्ने वा पूर्णकालीन कार्यकर्ता पाल्ने पार्टी होइन, आफ्नो पेसा र व्यवसायमा अब्बल रहेका निष्ठावान्, स्वावलम्बी र सुशासित नागरिकहरूको गतिशील मञ्च बन्नेछ । हामी १५औँ महाधिवेशनमार्फत कांग्रेसलाई २१औँ शताब्दीको आधुनिक, पारदर्शी र परिणाममुखी लोकतान्त्रिक दलका रूपमा पुनर्गठित गर्नेछौँ । यस महाधिवेशनले पार्टीमा नयाँ नेतृत्व, नयाँ विचार र नयाँ कार्यशैलीको विकास गर्नेछ, जसले देशलाई सुशासन र समृद्धितर्फ लैजान सक्षम नेतृत्व प्रदान गर्नेछ ।









Facebook Comments