काठमाडौं । बुढीगण्डकीमा आएको बाढीपछि प्रभावित क्षेत्रमा उद्धार तथा राहत सामग्री पुर्‍याउन २०८ वटा हवाई उडान सञ्चालन गरिएको छ। उद्धार कार्यमा नेपाली सेनाका हेलिकप्टरसँगै निजी क्षेत्रका हेलिकप्टरसमेत परिचालन गरिएको हो।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार असोज २५ गते ८८, असोज २६ गते ६८ र असोज २७ गते ५२ वटा हवाई उडान भएका छन्। बाढी प्रभावित क्षेत्रमा उद्धार तथा प्रतिकार्यलाई तीव्रता दिन नेपाली सेनाका पाँचवटा हेलिकप्टर परिचालन गरिएको प्राधिकरणले जनाएको छ।

ad

बाढी प्रभावित क्षेत्रबाट हालसम्म ५०८ जनाको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये ४५७ जना नेपाली र ५१ जना विदेशी नागरिक रहेको प्राधिकरणको तथ्यांक छ।
उद्धारसँगै प्रभावित क्षेत्रमा खाद्यान्न, हवाई इन्धनलगायत अत्यावश्यक सामग्री हेलिकप्टरमार्फत ढुवानी गरिएको छ। 

सडक तथा पुलमा क्षति पुगेका कारण दुर्गम क्षेत्रमा राहत सामग्री पुर्‍याउन हवाई सेवाको प्रयोग गरिएको हो।
बाढीले भौतिक पूर्वाधारमा समेत ठूलो क्षति पुर्‍याएको छ। प्राधिकरणको विवरणअनुसार दुईवटा पक्की पुल, पाँचवटा झोलुङ्गे पुल, एउटा बेलिब्रिज र एउटा क्यान्टिलिभर पुल बगाएको छ।

त्यसैगरी, बाढीबाट तीनवटा जलविद्युत् आयोजना र एउटा विद्यालयमा क्षति पुगेको छ। बाढीले १४० देखि १५० वटासम्म पशुचौपाया बगाएको प्रारम्भिक विवरणमा उल्लेख छ।

बुढीगण्डकी बाढीबाट प्रभावित क्षेत्रको उद्धार, राहत वितरण र क्षतिको आकलन गर्ने कार्यमा सरकारी निकायहरू सक्रिय रहेका छन्।