काठमाडौं । संसदीय सुनुवाई समितिले मलेसियाका लागि प्रस्तावित राजदूत चुडामणि खरेलको सुनुवाइ स्थगन गरेको छ । 

बुधबार बसेको संसदीय सुनुवाइ समितिमा उनले कार्ययोजनासमेत पेस गरिसकेकोमा समितिका सदस्यहरुले म्यानपावर व्यवसायीसँग सम्बन्ध, पोखराको जग्गा खरिदमा अनियमिततालगायतमा उनको संलग्नता रहेको विषयमा कुरा उठाएपछि समितिका सभापति बोधनारायण श्रेष्ठले आजका लागि सुनुवाइ स्थगन गरेका हुन् । 

ad

आज बसेको समितिको बैठकमा रास्वपा सांसद राजीव खत्रीले राजदूत नियुक्तिको प्रस्ताव, स्वार्थको द्वन्द्व, आर्थिक लेनदेन, स्थानीय तहसँग अनुदान मिलाइदिने भन्दै रकम लिएको विषय उठाएका थिए। रास्वपाकै अर्का सांसद मधुकुमार चौलागाईंले प्रस्तावित राजदूत खरेलबारे थप अध्ययन गर्न पर्ने र आवश्यक परे उपसमिति बनाउनुपर्ने धारणा राखे ।

प्रस्तावित राजदूत खरेलले उनले बाहिर आएका आरोपमा आफ्नो कुनै पनि संलग्नता नरहेको जिकीर गरेका छन् । 
संसदीय समितिले प्रक्रियालाई केही समयका लागि रोकेर थप अध्ययन र प्रमाण जुटाउने निर्णय गरेको छ।