काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–२, माथिल्लो भङ्गालबाट बरामद भएको २१ किलो ७५० ग्रामभन्दा बढी सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल भित्रिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। सुन एकैपटक नभई सानो–सानो परिमाणमा ल्याएर बूढानीलकण्ठस्थित भाडाको घरमा जम्मा गर्ने र प्रशोधन गरी ढिक्का बनाउने गरिएको प्रहरीको भनाइ छ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले गरेको अनुसन्धानअनुसार सुन तस्करीमा संलग्न समूहले विमानस्थलमा पटक–पटक आवतजावत गर्दै सुन संकलन गर्ने गरेको देखिएको छ। यसले विमानस्थलको भन्सार जाँचपास प्रणाली र सुरक्षा निगरानीमाथि समेत प्रश्न उठाएको छ।

ad

कार रोकेपछि खुल्यो सुन तस्करीको रहस्य
असोज २२ गते बिहान करिब ६ बजे बूढानीलकण्ठमा तस्करीका लागि प्रयोग भएको आशंकाको बीवाईडी कार भाडाको घरबाट बाहिरिँदै थियो। केही दिनदेखि निगरानीमा रहेको उक्त कारलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले रोकेर जाँच गरेको थियो।

कार २७ वर्षीय चिनियाँ नागरिक हान फेइले चलाएका थिए। प्रहरीले कारबाट दुई किलो सुन बरामद गरेपछि थप अनुसन्धानका क्रममा घरमा छापा मारेको थियो। घरको खानतलासी गर्दा थप सुन फेला परेपछि बरामद कुल सुनको परिमाण २१ किलो ७५० ग्रामभन्दा बढी पुगेको हो।

प्रहरी वरिष्ठ उपरीक्षक सन्तोष खड्काका अनुसार सुन प्रशोधन गर्न प्रयोग गरिने उपकरणसमेत घरबाट बरामद भएका छन्। अर्धठोस वा लेसिलो अवस्थामा ल्याइएको सुनलाई त्यहीँ प्रशोधन गरेर बिस्कुट आकारका ढिक्का बनाउने गरिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

प्रहरीले यस कारबाहीलाई ‘अपरेसन ब्राभो गल्फ’ नाम दिएको थियो।

चीनमा बसेर निर्देशन दिने मुख्य व्यक्ति अझै फरार
प्रहरी अनुसन्धानमा चिनियाँ नागरिक झेन जियालेले चीनको ग्वाङ्झाउबाट सुन तस्करीको सञ्जाल सञ्चालन गरेको आशंका गरिएको छ। पक्राउ परेका व्यक्तिहरूले उनकै निर्देशनअनुसार काम गर्ने गरेको प्रहरीको भनाइ छ।

प्रहरीका अनुसार झेनले विच्याटमार्फत नेपालमा रहेका व्यक्तिहरूलाई निर्देशन दिने गरेका थिए। हान फेइले अनुसन्धान अधिकृतसमक्ष झेनलाई मुख्य व्यक्ति अर्थात् ‘बोस’का रूपमा चिनाएको बताइएको छ।

यस प्रकरणमा हालसम्म तीन जना चिनियाँ नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा हान फेइ, चोउ लोङछिन र वाङ जियानझेन रहेका छन्। उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरी वरिष्ठ उपरीक्षक खड्काले बताएका छन्।

घरको साँचो चीनबाटै नेपालसम्म
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार तस्करीमा प्रयोग भएको घर साउन महिनामै भाडामा लिइएको थियो। घरको मासिक भाडा तीन लाख ३० हजार रुपैयाँ तोकिएको थियो। चार महिनाको भाडाबापत १३ लाख २० हजार रुपैयाँ अग्रिम बुझाइएको प्रहरीको भनाइ छ।

घर भाडामा लिने प्रक्रियामा स्यु छान नामका चिनियाँ नागरिक संलग्न रहेको अनुसन्धानबाट खुलेको छ। उनले घरको साँचो चीनमा रहेका झेन जियालेलाई बुझाएको र पछि झेनले हान फेइलाई साँचो उपलब्ध गराएको प्रहरीको दाबी छ।

हान फेइ असोज १० गते चीनबाट नेपाल आएको र त्यसअघि पनि परिवारसहित नेपाल आएर सुनको बजार तथा मूल्यबारे जानकारी लिएको अनुसन्धानमा उल्लेख छ। उनी दैनिक आठ हजार रुपैयाँ भाडा तिर्ने गरी बीवाईडी कार प्रयोग गरिरहेका थिए।

विमानस्थलमा पाँच–छ पटक ओहोरदोहोर
अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरूका अनुसार तस्करीमा संलग्न चिनियाँ नागरिकहरूले सुन लिन वा संकलन गर्न पाँचदेखि छ पटकसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ क्षेत्रमा गाडी लिएर आवतजावत गरेको देखिएको छ।

यही गतिविधिका आधारमा सुन हवाईमार्ग हुँदै नेपाल भित्र्याइएको हुन सक्ने प्रहरीको निष्कर्ष छ। यद्यपि, सुन कसरी भन्सार जाँचपास पार गरेर बाहिर निकालियो भन्ने विषयमा अनुसन्धान जारी छ।

प्रहरीले बरामद गरेको सुनको बजार मूल्य ५४ करोड ६० लाख सात हजार रुपैयाँभन्दा बढी रहेको जनाएको छ। घटनामा संलग्न अन्य व्यक्तिको पहिचान तथा तस्करीको सञ्जालबारे थप अनुसन्धान भइरहेको छ।

यस घटनाले अन्तर्राष्ट्रिय हवाईमार्गबाट हुने सुनको अवैध ओसारपसार नियन्त्रणमा सुरक्षा निकाय र भन्सार प्रशासनबीचको निगरानी प्रणालीमाथि गम्भीर प्रश्न खडा गरेको छ।