काठमाडौं । मातातीर्थ–स्युचाटार १३२ केभी प्रसारण लाइनको स्तरोन्नति कार्यका कारण असोज २४ र २५ गते काठमाडौं उपत्यकाका केही क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित हुन सक्ने भएको छ।

नेपाल विद्युत् प्राधिकरणले प्रसारण लाइनको क्षमता बढाउन पुराना तार हटाएर उच्च क्षमताका नयाँ तार जडान गर्न लागेको हो। यसका लागि शनिबार र आइतबार बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म प्रसारण लाइन बन्द गर्नुपर्ने प्राधिकरणले जनाएको छ।

ad

प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयअन्तर्गत सञ्चालित १३२ केभी प्रसारण लाइन स्तरोन्नति आयोजनाले मातातीर्थ–स्युचाटार डबल सर्किट प्रसारण लाइनमा कन्डक्टर परिवर्तन गरिरहेको छ। कम क्षमताको पुरानो तारको स्थानमा उच्च क्षमताको एचटीएलएस कन्डक्टर जडान गर्न लागिएको हो।

आयोजनाका अनुसार डबल सर्किट प्रसारण लाइनको एउटा सर्किटमा करिब ४०० मिटर तार परिवर्तन गर्न बाँकी छ। उक्त काम पूरा भएपछि प्रसारण लाइनको विद्युत् वहन क्षमता बढ्ने र काठमाडौं उपत्यकामा बढ्दो विद्युत् माग व्यवस्थापन गर्न सहज हुने अपेक्षा गरिएको छ।

निर्धारित समयमा प्रसारण लाइन बन्द गर्नुपर्ने भएकाले मातातीर्थ, स्युचाटारलगायत सम्बन्धित सबस्टेसनबाट विद्युत् आपूर्ति हुने क्षेत्रमा सेवा प्रभावित हुन सक्ने प्राधिकरणले स्पष्ट पारेको छ।

प्राविधिक काम तोकिएको समयमै सम्पन्न गर्ने गरी आवश्यक तयारी गरिएको जनाउँदै प्राधिकरणले मौसम प्रतिकूल भएमा कार्यतालिका परिवर्तन हुन सक्ने जनाएको छ। विद्युत् लाइन स्तरोन्नतिका क्रममा उपभोक्ताले भोग्नुपर्ने असुविधाप्रति प्राधिकरणले क्षमायाचना गरेको छ।

प्रसारण लाइनको क्षमता अभिवृद्धि भएपछि उपत्यकाको विद्युत् प्रणाली थप भरपर्दो, गुणस्तरीय र दिगो बनाउन सहयोग पुग्ने प्राधिकरणको विश्वास छ।