काठमाडौं । नेपालमा राहदानी छपाइको जिम्मेवारी पाएका दुई जर्मन कम्पनीले पछिल्लो करिब तीन महिनाको अवधिमा दुई लाखभन्दा बढी राहदानी छापेका छन्। नयाँ राहदानी प्रणाली लागू भएपछि हालसम्म दुई लाखभन्दा बढी राहदानी जारी भइसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

मन्त्रालयले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले राहदानी वितरणको पछिल्लो अवस्थाबारे जानकारी दिएका हुन्। उनका अनुसार २०८३ असार २९ गतेदेखि नयाँ प्रणाली कार्यान्वयनमा आएपछि दुई लाखभन्दा बढी राहदानी जारी भइसकेका छन्।

ad

नयाँ व्यवस्थाअनुसार अब नागरिकले राहदानीका लागि आवेदन दिन आफ्नो स्थायी ठेगाना रहेको जिल्लामै पुग्नुपर्ने बाध्यता हटेको छ। देशका जुनसुकै जिल्लाका नागरिकले आफूलाई पायक पर्ने जिल्ला प्रशासन कार्यालय वा इलाका प्रशासन कार्यालयबाट आवेदन दिन सक्ने प्रवक्ता क्षेत्रीले बताए।

यस व्यवस्थाले राहदानी सेवा लिन नागरिकलाई सहज हुने मन्त्रालयको अपेक्षा छ। विशेषगरी आफ्नो स्थायी ठेगानाभन्दा बाहिर बसोबास गरिरहेका व्यक्तिलाई आवेदन प्रक्रियामा सुविधा पुग्नेछ।

यसैबीच, राहदानी विभागले हराएका तथा चोरी भएका यात्रा कागजातसम्बन्धी विवरण व्यवस्थापन गर्न नयाँ कार्यविधि जारी गरेको छ। कार्यविधिअनुसार हराएका वा चोरी भएका राहदानीको विवरण व्यवस्थित रूपमा अभिलेख राख्ने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ।

प्रवक्ता क्षेत्रीका अनुसार यस्तो व्यवस्थाले हराएका तथा चोरी भएका राहदानीको पहिचान र विवरण व्यवस्थापनलाई प्रभावकारी बनाउनुका साथै नेपाली राहदानीप्रतिको अन्तर्राष्ट्रिय विश्वसनीयता बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

राहदानी सेवा विस्तार, आवेदन प्रक्रियामा सहजता र हराएका कागजातको व्यवस्थित अभिलेखीकरणलाई मन्त्रालयले नयाँ प्रणालीका महत्त्वपूर्ण पक्षका रूपमा अघि सारेको छ।