काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–२, माथिल्लो भङ्गालस्थित एक घरबाट प्रहरीले २१ किलो ७५० दशमलव ६८ ग्राम सुन बरामद गरेको छ। बरामद सुनको बजार मूल्य ५४ करोड ६० लाख ७ हजार ३२० रुपैयाँ रहेको प्रहरीले जनाएको छ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रबार पत्रकार सम्मेलन गरी सुन बरामद र घटनाको प्रारम्भिक अनुसन्धानबारे जानकारी दिएको हो। प्रहरी टोलीले बिहीबार मध्याह्न चिनियाँ नागरिकले भाडामा लिएको घरमा छापा मारेर सुनसहित विभिन्न उपकरण नियन्त्रणमा लिएको थियो।

ad

घटनामा संलग्न रहेको आशंकामा प्रहरीले तीन जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा २७ वर्षीय हान फेइ, झोउ लङछिन्ङ र छु क्यान रहेका छन्।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सन्तोष खड्काका अनुसार सुन प्रशोधनका लागि प्रयोग गरिएको उक्त घर तस्करीमा संलग्न समूहले गत साउनदेखि भाडामा लिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घरको मासिक भाडा ३ लाख ३० हजार रुपैयाँ रहेको र घरधनीलाई चार महिनाको भाडा अग्रिम भुक्तानी गरिएको पाइएको प्रहरीले जनाएको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार समूहले अर्धठोस अवस्थामा सुन ल्याएर उक्त घरमा प्रशोधन गर्ने र त्यसलाई बिस्कुट आकारका ढिक्का बनाउने गरेको थियो। सुन प्रशोधनका लागि प्रयोग गरिने उच्च तापक्रमयुक्त भट्टी, डिजिटल तराजु तथा विभिन्न मेसिन र उपकरणसमेत बरामद गरिएको छ।

यसैगरी, सुन ओसारपसारमा प्रयोग भएको आशंकामा एउटा बीवाईडी गाडी पनि प्रहरीले नियन्त्रणमा लिएको छ। उक्त गाडी भाडामा लिएर प्रयोग गर्ने गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ।

प्रहरीका अनुसार प्रशोधन गरिएको सुन लिएर गाडीमा बाहिर निस्कने क्रममा चिनियाँ नागरिकहरू पक्राउ परेका हुन्। बरामद सुन, गाडी र अन्य सामग्रीबारे थप अनुसन्धान भइरहेको छ। पक्राउ परेका व्यक्तिमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।