काठमाडौं । बडादसैँ नजिकिँदै गएपछि काठमाडौं उपत्यकाबाट घर फर्किने यात्रुको चाप बढ्न थालेको छ। गोङ्गबुस्थित नयाँ बसपार्कमा पछिल्ला दिनमा गाउँघर फर्किने यात्रुको भीड देखिन थालेको हो।

दसैँ मनाउन काठमाडौंमा रहेका नागरिक धमाधम आफ्नो गृहजिल्लातर्फ जान थालेपछि लामो दूरीका सार्वजनिक सवारीसाधनमा यात्रुको चाप बढेको यातायात व्यवसायीहरूले बताएका छन्।

ad

नयाँ बसपार्कबाट देशका विभिन्न जिल्लाका लागि दैनिक लामो तथा छोटो दूरीका सवारीसाधन सञ्चालन हुँदै आएका छन्। दसैँको मुख्य समय नजिकिँदै जाँदा यात्रुको संख्या अझ बढ्ने व्यवसायीहरूको अनुमान छ।

यात्रुको सहजताका लागि भोलिदेखि अग्रिम टिकट बुकिङ खुला गर्ने तयारी गरिएको छ। अग्रिम टिकट बुकिङ सुरु भएपछि दसैँका लागि घर फर्किने यात्रुको चाप थप बढ्ने अपेक्षा गरिएको छ।

दसैँका बेला काठमाडौंमा रहेका ठूलो संख्याका मानिस उपत्यकाबाहिर जाने भएकाले नयाँ बसपार्कसहित उपत्यकाका प्रमुख यातायात केन्द्रमा यात्रुको चाप बढ्ने गरेको छ। यात्रुको बढ्दो चापलाई व्यवस्थित गर्न यातायात व्यवसायी र सम्बन्धित निकायले आवश्यक तयारी अघि बढाएका छन्।