
काठमाडौं । नयाँ वायुसेवा कम्पनीका रूपमा नेपाली आकाशमा प्रवेश गर्ने तयारी गरेको डाँफे एयरलाइन्सले दसैँअघि नै नियमित उडान सुरु गर्ने घोषणा गरे पनि समयमै जहाज ल्याउन सकेन। कम्पनीले अब दसैँ र तिहारबीचमा जहाज भित्र्याउने तयारी गरेको जनाएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)बाट गत फागुनमा जहाज खरिदका लागि नो अब्जेक्सन लेटर (एनओसी) र जेठमा वायुयान सञ्चालन अनुमति (एओसी) पाएपछि डाँफेले असारसम्म जहाज ल्याएर परीक्षण उडान गर्ने तथा दसैँअघि व्यावसायिक उडान थाल्ने योजना सार्वजनिक गरेको थियो।
तर दसैँ नजिकिँदासम्म पनि जहाज नआएपछि कम्पनीको उडान योजना पछाडि धकेलिएको छ।
डाँफे एयरलाइन्सले करिब एक दशकदेखि बन्द रहेको मकालु एयर खरिद गरी नयाँ व्यवस्थापन र ब्रान्डमार्फत सेवा सञ्चालन गर्न लागेको हो। कम्पनीले सुरुमा एटीआर ७२–६०० का दुईवटा जहाज ल्याएर उडान सुरु गर्ने योजना बनाएको थियो।
डाँफे एयरलाइन्सका अध्यक्ष राजुकुमार श्रेष्ठका अनुसार कर्मचारी व्यवस्थापनको काम अघि बढिसकेको भए पनि उडान सञ्चालनका लागि आवश्यक तयारी अझै पूरा भएको छैन।
‘दसैँका बेला विमानस्थलहरू अत्यधिक व्यस्त हुन्छन्। तयारी पूरा नभएको अवस्थामा त्यस्तो समयमा उडान सुरु गर्दा समस्या आउन सक्छ,’ श्रेष्ठले भने। उनका अनुसार अहिले कर्मचारीलाई तालिम दिने र कार्यालय व्यवस्थापन गर्ने काम भइरहेको छ।
कम्पनीले जहाज ल्याएपछि परीक्षण उडान गर्नुपर्ने हुन्छ। त्यसपछि मात्रै नियमित व्यावसायिक उडान सञ्चालन गर्न अनुमति पाइनेछ।
ट्रंक रुटमा चौथो प्रतिस्पर्धी थपिने
डाँफे सञ्चालनमा आएपछि नेपालका प्रमुख ट्रंक रुटमा नियमित उडान गर्ने वायुसेवा कम्पनीको संख्या चार पुग्नेछ। हाल बुद्ध, यती र श्री एयरलाइन्सले प्रमुख गन्तव्यमा उडान गर्दै आएका छन्।
दसैँजस्ता मुख्य चाडपर्वमा हवाई यात्रुको चाप बढ्ने र सीमित उडानका कारण टिकट पाउन कठिन हुने तथा भाडा महँगो हुने अवस्थामा नयाँ वायुसेवा कम्पनी थपिँदा यात्रुलाई राहत पुग्ने अपेक्षा गरिएको छ।
पोखरालाई मुख्य आधार बनाउने योजना
डाँफेले पोखरालाई आधार विमानस्थल बनाएर आन्तरिक तथा प्रादेशिक हवाई सञ्जाल विस्तार गर्ने योजना बनाएको छ। पोखराबाट नेपालगन्ज, सुर्खेत, भैरहवा, भद्रपुर, विराटनगर, सिमरा, जनकपुर र तुम्लिङटारलगायत गन्तव्यमा उडान गर्ने कम्पनीको तयारी छ।
काठमाडौंलाई अर्को आधार बनाएर माउन्टेन फ्लाइटसहित तुम्लिङटार, भद्रपुर, विराटनगर, जनकपुर, सिमरा, पोखरा, भरतपुर, भैरहवा, नेपालगन्ज, सुर्खेत र धनगढीलगायत गन्तव्यमा उडान गर्ने योजना पनि कम्पनीले बनाएको छ।
तीन वर्षमा सात एटीआर पुर्याउने लक्ष्य
कम्पनीले तत्काल दुईवटा जहाजबाट सेवा सुरु गर्ने र तीन वर्षभित्र एटीआर जहाजको संख्या सात पुर्याउने लक्ष्य राखेको छ। त्यसबाहेक तीनवटा जेटस्ट्रिम जहाज थपेर कुल १० जहाज सञ्चालन गर्ने दीर्घकालीन योजना रहेको अध्यक्ष श्रेष्ठले बताए।
जेटस्ट्रिम जहाज छोटो धावनमार्ग भएका भरतपुर, सिमरा र तुम्लिङटारजस्ता विमानस्थलमा उपयोग गर्न सकिने कम्पनीको भनाइ छ।
डाँफेले एटीआर ७२–६०० लाई आफ्नो प्रमुख विमानका रूपमा अघि सारेको छ। यो सिरिजमा आधुनिक ककपिट, नेभिगेसन तथा फ्लाइट म्यानेजमेन्ट प्रणालीलगायत प्रविधि प्रयोग हुने भएकाले तुलनात्मक रूपमा कम इन्धन खपत र सुरक्षित सञ्चालनका लागि उपयुक्त मानिन्छ।
कम्पनीले सुरुमा यही सिरिजको जहाज नेपालमा पहिलोपटक ल्याउने दाबी गरेको थियो। तर यसअघि नै बुद्ध एयरले एटीआर ७२–६०० सिरिजको जहाज नेपाल ल्याएर व्यावसायिक उडानमा प्रयोग गरिसकेको छ।









Facebook Comments