काठमाडौं । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले श्रमिकलाई कानुनअनुसार चाडपर्व खर्च उपलब्ध गराउन सबै रोजगारदाता तथा प्रतिष्ठानलाई निर्देशन दिएको छ।

विभागले विज्ञप्ति जारी गर्दै श्रम ऐन, २०७४ को दफा ३७ बमोजिम श्रमिकलाई चाडपर्व खर्च उपलब्ध गराउन ध्यानाकर्षण गराएको हो।

ad

कानुनी व्यवस्थाअनुसार प्रचलित धर्म, संस्कृति र परम्पराअनुसार मनाइने चाडपर्वका लागि प्रत्येक श्रमिकले आफूले खाइपाइ आएको एक महिनाको आधारभूत पारिश्रमिक बराबरको रकम हरेक वर्ष चाडपर्व खर्चका रूपमा पाउने व्यवस्था छ।

विभागका उपमहानिर्देशक विपिन राजभण्डारीले जारी गरेको विज्ञप्तिमा रोजगारदाता वा प्रतिष्ठानले कानुनअनुसारको चाडपर्व खर्च उपलब्ध नगराए श्रमिकले सम्बन्धित निकायमा उजुरी गर्न सक्ने उल्लेख छ।

चाडपर्व खर्च नपाउने श्रमिक तथा कामदारले आफ्नो कार्यक्षेत्रअन्तर्गत पर्ने श्रम तथा रोजगार कार्यालय वा श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग मा निवेदन वा उजुरी दिन सक्ने विभागले जनाएको छ।

विभागले कानुनी व्यवस्थाको पालना गरी श्रमिकलाई समयमै चाडपर्व खर्च उपलब्ध गराउन रोजगारदाता तथा प्रतिष्ठानहरूलाई आग्रह गरेको छ।