काठमाडौं । सामाजिक सञ्जाल तथा केही सञ्चारमाध्यममा एआई र फोटोशपमार्फत तयार पारिएका भ्रामक सामग्री र स्क्रिनसट सार्वजनिक गरी हवाई भाडाबारे भ्रम फैलाइएको भन्दै बुद्ध एयरले आपत्ति जनाएको छ।

कम्पनीले बिहीबार विज्ञप्ति जारी गर्दै धनगढीका लागि एकतर्फी हवाई टिकट न्यूनतम १० हजार ८ सय रुपैयाँमै उपलब्ध गराउँदै आएको स्पष्ट पारेको छ। न्यूनतम भाडादरमा टिकट उपलब्ध गराइरहेकाले अधिकांश दिनका उडानमा टिकट बिक्री भइसकेको कम्पनीको भनाइ छ।

ad

रसुवा क्षेत्रमा आएको बाढीपहिरोका कारण सडकमार्गमा ठूलो क्षति पुगेपछि लामो समय यातायात प्रभावित भएको थियो। यस्तो अवस्थामा यात्रुलाई सहज र किफायती हवाई सेवा उपलब्ध गराउने उद्देश्यले सडक यातायात सहज नभएसम्म तथा दसैँ–तिहारसम्म न्यूनतम भाडादरमा टिकट उपलब्ध गराउने निर्णय गरिएको बुद्ध एयरले जनाएको छ।

कम्पनीले आफ्ना आधिकारिक बिक्री माध्यमबाट कायम गरिएको भाडाभन्दा बढी रकम लिएर टिकट बिक्री गरेको पाइएमा सम्बन्धित व्यक्ति, ट्राभल एजेन्सी वा अन्य माध्यमविरुद्ध कडा कदम चाल्ने चेतावनी दिएको छ। त्यस्तो कार्य पुष्टि भएमा प्रचलित कानुनअनुसार आवश्यक कारबाही अघि बढाइने कम्पनीले जनाएको छ।

बुद्ध एयरले यात्रुलाई सामाजिक सञ्जाल वा अन्य अनधिकृत माध्यमबाट फैलाइएका भ्रामक सूचना र स्क्रिनसटका आधारमा हवाई भाडाबारे धारणा नबनाउन आग्रह गरेको छ। टिकटको मूल्य तथा अन्य जानकारीका लागि कम्पनीको आधिकारिक वेबसाइट र मोबाइल एप प्रयोग गर्न उसले अनुरोध गरेको छ।

कम्पनीका अनुसार पछिल्लो समय काठमाडौं बाहिर जाने यात्रुको चाप बढी छ भने काठमाडौं भित्रिने यात्रुको संख्या तुलनात्मक रूपमा कम छ। काठमाडौं आउने यात्रुका लागि बुद्ध एयरले प्रोमो कोडमार्फत विभिन्न छुटसमेत उपलब्ध गराइरहेको जनाएको छ।

विपद्का कारण यात्रुहरूले भोग्नुपरेको असहज अवस्थालाई ध्यानमा राख्दै सुरक्षित, सहज र किफायती हवाई सेवा उपलब्ध गराउने प्रतिबद्धता कायम राख्ने बुद्ध एयरले जनाएको छ।