
काठमाडौं । विपद्का बेला निजी क्षेत्रले पुर्याएको सहयोगको सरकारले प्रशंसा गर्दै सम्मान गर्ने बताएपछि नेपाल चेम्बर अफ कमर्सले त्यसको स्वागत गरेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको ३७औँ बैठकमा निजी क्षेत्रको सहयोगबाट विपद् व्यवस्थापनमा पुगेको योगदानको सराहना गरिएको चेम्बरले जनाएको हो।
बैठकको अध्यक्षता गरेका गृहमन्त्री सुधन गुरुङले विपद्का बेला उल्लेखनीय योगदान गर्ने निजी क्षेत्रलाई सरकारका तर्फबाट सम्मान गरिने बताएका थिए। सरकारको उच्च तहबाट निजी क्षेत्रको योगदानको कदर हुने संकेतले व्यवसायीलाई थप प्रोत्साहन मिलेको चेम्बरको भनाइ छ।
भोटेकोसीमा आएको बाढी तथा त्यसपछि देखिएका मनसुनजन्य विपद्का घटनामा खोज, उद्धार, राहत र पुनर्स्थापनाका काममा सरकारी निकायसँग निजी क्षेत्रले समेत सहकार्य गरेको चेम्बरले जनाएको छ। गृह मन्त्रालय र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गरेको समन्वयलाई पनि चेम्बरले सकारात्मक रूपमा लिएको छ।
विपद्का बेला राहत सामग्री, यातायात, स्वास्थ्य सेवा तथा अन्य आवश्यक स्रोतसाधन प्रभावित क्षेत्रमा पुर्याउन सरकारी संयन्त्र र निजी क्षेत्रबीचको समन्वय महत्वपूर्ण हुने चेम्बरको भनाइ छ।
सरकारले विपद् व्यवस्थापनलाई संघ, प्रदेश र स्थानीय तहसहित सुरक्षा निकाय तथा अन्य सरोकारवालाको साझा जिम्मेवारीका रूपमा अघि बढाइरहेको चेम्बरले जनाएको छ। पूर्वतयारी, सूचना तथा चेतावनी प्रणाली, खोज तथा उद्धार, राहत र पुनर्स्थापनाका लागि संयन्त्र परिचालन गरिनु सकारात्मक रहेको उसले उल्लेख गरेको छ।
चेम्बरले आगामी दिनमा पनि विपद्का बेला सरकारसँग सहकार्यलाई थप व्यवस्थित बनाउने प्रतिबद्धता जनाएको छ। तत्कालीन राहतसँगै विपद् प्रभावित व्यवसायको पुनःस्थापना, आपूर्ति शृंखला सुचारु गर्ने र प्रभावित क्षेत्रको आर्थिक गतिविधि पुनःचलायमान बनाउने विषयलाई समेत प्राथमिकता दिनुपर्नेमा उसले जोड दिएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको ३७औँ बैठकले प्रभावित क्षेत्रमा जारी खोज तथा उद्धारको समीक्षा गर्दै पुनःस्थापना र पुनरुत्थानका काम अघि बढाउने निर्णय गरेकोप्रति पनि चेम्बरले स्वागत जनाएको छ।









Facebook Comments