काठमाडौं । भोटेकोशी बाढीबाट भएको क्षतिको बिमा दाबी करिब २१ अर्ब रुपैयाँ पुगे पनि हालसम्म ६७ लाख रुपैयाँभन्दा केही बढी मात्र भुक्तानी भएको छ।

नेपाल बिमा प्राधिकरणका अनुसार असोज १२ गतेसम्म बाढीबाट प्रभावित बिमितहरूले २० अर्ब ९८ करोड ८७ लाख रुपैयाँ बराबरको क्षतिपूर्ति दाबी गरेका छन्। त्यसमध्ये ६७ लाख ४८ हजार रुपैयाँ भुक्तानी भएको हो।

ad

बाढी गएको केही दिनमै बिमा कम्पनीहरूमा करिब २५ अर्ब ८७ करोड रुपैयाँ बराबरका दाबी परेका थिए। स्थलगत क्षतिको यकिन विवरण नआइसकेको अवस्थामा प्रारम्भिक रूपमा परेको ठूलो दाबी पछि घटेर १५–१६ अर्ब रुपैयाँको हाराहारीमा पुगेको थियो। क्षतिको थप विवरण र नयाँ दाबी आउने क्रमसँगै कुल दाबी पुनः बढेर करिब २१ अर्ब पुगेको प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार सबैभन्दा धेरै दाबी सम्पत्ति बिमाअन्तर्गत परेको छ। ५१८ वटा दाबीबाट ९ अर्ब ४१ करोड ५८ लाख रुपैयाँ क्षतिपूर्ति माग गरिएको छ।

इन्जिनियरिङ तथा ठेकेदार बिमामा १६५ वटा दाबी परेका छन्, जसको कुल रकम ४ अर्ब ४१ करोड ४५ लाख रुपैयाँ छ। मोटर बिमातर्फ भने सबैभन्दा धेरै १ हजार ६६ वटा दाबी परेका छन्। ती दाबीबाट ३ अर्ब ७ करोड ९३ लाख रुपैयाँ क्षतिपूर्ति माग गरिएको छ।

पारवहन बिमाअन्तर्गत १०४ वटा दाबीबाट २ अर्ब ४५ करोड ५१ लाख रुपैयाँ, अन्य बिमाअन्तर्गत २९९ वटा दाबीबाट १ अर्ब ३६ करोड ८५ लाख रुपैयाँ र स्वास्थ्य बिमातर्फ २८ वटा दाबीबाट २२ करोड ५२ लाख रुपैयाँ बराबरको क्षतिपूर्ति माग गरिएको छ।

बिमा प्राधिकरणले हालसम्म प्राप्त तथ्यांक प्रारम्भिक भएकाले दाबीको संख्या र रकममा अझै परिवर्तन हुन सक्ने जनाएको छ। क्षतिको मूल्यांकन र दाबीसम्बन्धी प्रक्रिया अघि बढ्दै जाँदा कुल बिमा दाबी थप बढ्न सक्ने प्राधिकरणको अनुमान छ।