काठमाडौं । दसैं नजिकिँदै गए पनि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुल्ने टुंगो लागेको छैन। अविरल वर्षापछि देशका विभिन्न स्थानमा सडक तथा पुलमा क्षति पुगेका कारण यातायात व्यवसायीले सडकको अवस्था सहज भएपछि मात्रै अग्रिम बुकिङ खोल्ने तयारी गरेका छन्।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौलाका अनुसार हाल देशका अधिकांश सडकखण्डमा समस्या रहेकाले यात्रुको सुरक्षित आवागमन सुनिश्चित नभएसम्म टिकट बुकिङ खोल्न कठिन छ।

ad

सामान्य अवस्थामा दसैंका बेला काठमाडौं उपत्यकाबाट करिब २० लाख यात्रु बाहिरिने गर्छन्। चाडपर्वका बेला हुने ठूलो यात्रु चापलाई व्यवस्थापन गर्न सडकको अवस्था सुधार गर्नुपर्ने व्यवसायीको माग छ।

सिटौलाका अनुसार दसैं लक्षित यातायात व्यवस्थापनबारे महासंघले सम्बन्धित सरकारी निकायसँग छलफल गरिरहेको छ। सोमबार प्रतिनिधिसभाको पूर्वाधार विकास समितिको बैठक र मंगलबार समितिअन्तर्गतको उपसमिति बैठकमा समेत व्यवसायीका तर्फबाट सडकको अवस्थाबारे जानकारी गराइएको उनले बताए।

उनले अहिले देशभरका सडकमा जोखिम रहेको भन्दै दसैंअघि सडक मर्मत तथा सञ्चालनयोग्य बनाउन सरकारसँग आग्रह गरिएको बताए। महासंघले दसैंको समयमा यात्रुवाहक सार्वजनिक सवारीसाधनलाई प्राथमिकतामा राखेर सहज रूपमा सञ्चालन हुने वातावरण बनाउन सरकारसँग माग गरेको छ।

सिटौलाका अनुसार सडकको अवस्था सुधारिएपछि मात्रै लामो दूरीका सवारी सञ्चालन र यात्रुको व्यवस्थापन प्रभावकारी बन्न सक्छ। विशेषगरी चाडपर्वमा ठूलो संख्यामा यात्रु बाहिरिने भएकाले जोखिमयुक्त सडकमा यातायात सञ्चालन गर्दा यात्रुको सुरक्षामा चुनौती थपिन सक्ने व्यवसायीको भनाइ छ। ‘अहिलेको अवस्था सहज छैन,’ सिटौलाले भने, ‘यात्रुलाई सुरक्षित रूपमा गन्तव्यसम्म पुर्‍याउन सडकको अवस्था सुधारिनुपर्छ।’

महासंघले दसैंअघि सडक मर्मत, जोखिमयुक्त स्थानको व्यवस्थापन र यातायात सञ्चालनका लागि आवश्यक तयारी तीव्र बनाउन सरकारसँग आग्रह गरेको छ। सडकको अवस्था सुधारिएपछि यातायात व्यवसायी, सरकार र सम्बन्धित निकायबीचको समन्वयमा अग्रिम टिकट बुकिङ खोल्ने विषयमा निर्णय गरिने बताइएको छ।