
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट भएको क्षतिको बिमा दाबी करिब २१ अर्ब रुपैयाँ पुगेको छ। नेपाल बिमा प्राधिकरणका अनुसार सोमबार साँझसम्म विभिन्न बिमा कम्पनीमा २ हजार १८० वटा पोलिसीबाट २० अर्ब ९८ करोड रुपैयाँ बराबरको दाबी परेको हो।
भदौ १० गते आएको बाढीले ठूलो भौतिक क्षति पुर्याएपछि निर्जीवन बिमा तथा लघुबिमा कम्पनीमा ठूलो संख्यामा दाबी परेको हो। यद्यपि, हालसम्म कम्पनीहरूले ६७ लाख ४० हजार रुपैयाँ मात्र प्रारम्भिक, अग्रिम तथा आंशिक दाबी भुक्तानी गरेका छन्।
कम्पनीगत रूपमा हेर्दा हिमालयन एभरेस्ट इन्स्योरेन्समा सबैभन्दा ठूलो रकमको दाबी परेको छ। उक्त कम्पनीमा १५९ वटा पोलिसीबाट ६ अर्ब २७ करोड रुपैयाँ बराबरको दाबी परेको प्राधिकरणले जनाएको छ। सानिमा जीआईसी इन्स्योरेन्समा २४२ वटा दाबीबाट ३ अर्ब ५० करोड रुपैयाँ बराबरको दाबी परेको छ।
त्यसैगरी शिखर इन्स्योरेन्समा २ अर्ब ९९ करोड, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा १ अर्ब ९३ करोड, सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा १ अर्ब १२ करोड र नेको इन्स्योरेन्समा १ अर्ब १ करोड रुपैयाँ बराबरको दाबी परेको छ।
एक अर्बभन्दा कम रकमका दाबीमा आईजीआई प्रुडेन्सियल इन्स्योरेन्समा २२२ वटा पोलिसीबाट ८३ करोड ५० लाख ७० हजार रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्समा ७५ वटा दाबीबाट ८६ करोड २२ लाख रुपैयाँ र द ओरियन्टल इन्स्योरेन्समा ११ वटा दाबीबाट ८२ करोड ३२ लाख ५० हजार रुपैयाँ रहेको छ।
नेपाल इन्स्योरेन्समा १३१ वटा दाबीबाट ५६ करोड ११ लाख ५० हजार रुपैयाँ, प्रभु इन्स्योरेन्समा ११४ वटा दाबीबाट ५० करोड ३२ लाख रुपैयाँ र एनएलजी इन्स्योरेन्समा ११० वटा दाबीबाट ४६ करोड १७ लाख रुपैयाँ बराबरको दाबी परेको प्राधिकरणको तथ्यांक छ।
बिमाको प्रकृतिअनुसार सबैभन्दा ठूलो रकम सम्पत्ति बिमाअन्तर्गत दाबी भएको छ। यस शीर्षकमा ५१८ वटा पोलिसीबाट ९ अर्ब ४१ करोड रुपैयाँ बराबरको दाबी परेको छ। इन्जिनियरिङ तथा ठेकेदार जोखिम बिमामा १६५ वटा दाबीबाट ४ अर्ब ४१ करोड रुपैयाँ बराबरको दाबी परेको छ। मोटर बिमामा भने दाबीको संख्या सबैभन्दा धेरै छ। यसअन्तर्गत १ हजार ६६ वटा दाबी परेको छ, जसको कुल रकम ३ अर्ब ७ करोड रुपैयाँ रहेको छ।
त्यस्तै सामुद्रिक तथा पारवहन बिमामा १०४ वटा दाबीबाट २ अर्ब ४८ करोड रुपैयाँ र विविध बिमामा २९९ वटा दाबीबाट १ अर्ब ३६ करोड रुपैयाँ बराबरको दाबी परेको छ। स्वास्थ्य बिमामा २८ वटा दाबीबाट २२ करोड ५२ लाख रुपैयाँ बराबरको दाबी परेको प्राधिकरणले जनाएको छ।
भोटेकोशी बाढीबाट सिर्जित दाबीले बिमा कम्पनीहरूलाई पुनः ठूलो क्षतिपूर्ति दायित्वतर्फ धकेलेको छ। यसअघि २०८२ भदौमा भएको जेनजी प्रदर्शनका क्रममा भएको क्षतिबापत बिमा कम्पनीहरूमा करिब २३ अर्ब रुपैयाँ बराबरको दाबी परेको थियो।
त्यसको एक वर्ष नपुग्दै प्राकृतिक विपद्बाट मात्रै करिब २१ अर्ब रुपैयाँको बिमा दाबी पर्नुले बिमा क्षेत्रमाथि पर्ने वित्तीय दायित्वसमेत बढाएको छ।
भौतिक क्षति चार खर्बभन्दा बढी
भोटेकोशी बाढीबाट भएको समग्र क्षतिको आकार भने बिमा दाबीभन्दा निकै ठूलो छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको शीघ्र क्षति तथा आवश्यकता मूल्यांकन प्रतिवेदनअनुसार बाढीबाट भौतिक पूर्वाधारमा मात्रै करिब ४ खर्ब ७३ अर्ब ५७ करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ।
प्रतिवेदनले विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि ७ खर्ब २३ अर्ब ३१ करोड रुपैयाँ आवश्यक पर्ने प्रक्षेपण गरेको छ।
क्षेत्रगत रूपमा ऊर्जा क्षेत्रमा मात्रै १ खर्ब ३४ अर्ब ६९ करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान छ। सडकतर्फ २२ अर्ब, पुलतर्फ ११ अर्ब ३५ करोड र दूरसञ्चार क्षेत्रमा ६२ करोड रुपैयाँ बराबरको क्षति भएको प्रतिवेदनमा उल्लेख छ।
बाढी तथा त्यसबाट सिर्जित विपद्मा एक हजारभन्दा बढी मानिसको मृत्यु भएको र करिब ५ हजार जना अझै सम्पर्कविहीन रहेको विवरणसमेत सार्वजनिक गरिएको छ।








Facebook Comments