काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसहित चार जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले अधिकारीसहित बसन्तकुमार बस्याल क्षेत्री, सुरेश चौधरी र रश्मिता श्रेष्ठविरुद्ध सोमबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो।

अख्तियारका अनुसार चीनको सीमा क्षेत्रमा रोकिएको सामान आयातका लागि स्वीकृति मिलाइदिने भन्दै अधिकारीले सेवाग्राहीसँग ह्वाट्सएपमार्फत सम्पर्क गरी रकम माग गरेका थिए। अनुसन्धानका क्रममा अधिकारीले आफ्नो पदको दुरुपयोग गर्दै अन्य तीन जनासँगको मिलेमतोमा खाद्य आयात अनुमति तथा विभागबाट उपलब्ध हुने सेवा सहजीकरण गरिदिने भन्दै विभिन्न कम्पनी, उद्योग र भन्सार एजेन्टसँग रकम माग गरेको खुलेको आयोगको दाबी छ।

ad

घुस रकम लिन विभिन्न बैंक खाता र क्यूआर माध्यम प्रयोग गरिएको पनि अनुसन्धानबाट खुलेको अख्तियारले जनाएको छ। आयोगका अनुसार अधिकारीको नेपाल बैंक खातामा २५ हजार र प्रभु बैंक खातामा १ लाख १४ हजार रुपैयाँ जम्मा भएको थियो। त्यस्तै, बसन्तकुमार बस्याल क्षेत्रीको माछापुच्छ्रे बैंक खातामा ८ लाख ९४ हजार ५०० रुपैयाँ, रश्मिता श्रेष्ठको ग्लोबल आईएमई बैंक खातामा १४ लाख ९३ हजार ३७५ रुपैयाँ तथा सुरेश चौधरीको प्रभु बैंक खातामा २ लाख ६९ हजार रुपैयाँ जम्मा भएको पाइएको छ।

चार जनाका विभिन्न बैंक खातामा गरी कुल २८ लाख २० हजार ३७५ रुपैयाँ घुसबापत जम्मा गरी प्रयोग गरिएको अख्तियारको निष्कर्ष छ। उनीहरूको कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ अन्तर्गतको कसुर भएको दाबी गर्दै आयोगले सोही कानुनी व्यवस्थाअनुसार सजायको माग गरेको छ।

अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले चारै जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरिएको जानकारी दिएका छन्।