काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा लिएर नियमअनुसार सेवामा नफर्किएका शिक्षक तथा कर्मचारीबाट १६ करोड ५० लाख रुपैयाँभन्दा बढी असुल गरेको छ। त्रिवि रजिस्ट्रारको कार्यालयअन्तर्गत कर्मचारी प्रशासन महाशाखाका अनुसार हालसम्म ७५ वटा प्रकरणबाट उक्त रकम असुलउपर गरिएको हो।
अध्ययन बिदामा बसेपछि सेवामा नफर्किने तथा फर्किए पनि अनिवार्य रूपमा पूरा गर्नुपर्ने सेवा अवधि पूरा नगर्ने शिक्षक–कर्मचारीबाट विश्वविद्यालयले रकम असुल गर्दै आएको छ। बिदाको अवधिमा विश्वविद्यालयबाट प्राप्त तलब, भत्ता तथा अन्य सुविधामा नियमानुसार हर्जानासमेत जोडेर रकम निर्धारण गरिएको विश्वविद्यालयले जनाएको छ।
विश्वविद्यालयका अनुसार अझै केही प्रकरणको हिसाबकिताब तथा पुराना अभिलेख खोजी गर्ने काम भइरहेको छ। हालसम्म हिसाब तयार भएका प्रकरणमा करिब २१ करोड ५० लाख रुपैयाँ असुल गर्नुपर्ने देखिएको छ। सम्पर्कमा आएका शिक्षक तथा कर्मचारीका व्यक्तिगत अभिलेख अध्ययन गरी उनीहरूले विश्वविद्यालयलाई तिर्नुपर्ने रकम यकिन गर्ने र त्यसपछि असुलउपर गर्ने प्रक्रिया अघि बढाइएको त्रिविले जनाएको छ।
अध्ययन बिदा लिएर नियमअनुसार सेवामा नफर्किएका वा तोकिएको सेवा अवधि पूरा नगरेका शिक्षक तथा कर्मचारीलाई आगामी पुस मसान्तभित्र रजिस्ट्रारको कार्यालयमा सम्पर्क गर्न विश्वविद्यालयले आग्रह गरेको छ।









Facebook Comments