काठमाडौँ । जलवायुजन्य विपद्का कारण प्रभावित नेपाललाई संयुक्त अरब इमिरेट्स (यूएई)ले थप २ करोड ५० लाख अमेरिकी डलर आर्थिक सहयोग उपलब्ध गराउने भएको छ। उक्त रकम नेपाली रुपैयाँमा करिब ३ अर्ब ८३ करोड बराबर हुन्छ।

सहयोगसम्बन्धी प्रतिबद्धताका विषयमा परराष्ट्रमन्त्री शिशिर खनाल र यूएईका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री शेख अब्दुल्लाह बिन जायद अल नाह्यानबीच भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका क्रममा शनिबार न्युयोर्कस्थित यूएईको संयुक्त राष्ट्रसंघीय स्थायी नियोगमा दुई मन्त्रीबीच भेट भएको हो।

ad

भेटमा मन्त्री खनालले बाढीबाट प्रभावित नेपाली समुदायप्रति यूएई सरकार र त्यहाँका जनताले व्यक्त गरेको ऐक्यबद्धता तथा सहानुभूतिका लागि नेपाल सरकारका तर्फबाट धन्यवाद दिएका थिए।

खनालले बाढी प्रभावितलाई यूएईले यसअघि उपलब्ध गराएको मानवीय सहयोगप्रति समेत आभार व्यक्त गरे। उनले थप २ करोड ५० लाख अमेरिकी डलर सहयोग उपलब्ध गराउने यूएईको प्रतिबद्धताका लागि पनि धन्यवाद दिएका छन्।

भेटका क्रममा नेपाल–यूएई द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने तथा आपसी हितका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको बताइएको छ।

दुवै पक्षबीच श्रम, व्यापार, लगानी, पर्यटन र नवीकरणीय ऊर्जाका साथै कनेक्टिभिटीका क्षेत्रमा सहकार्यबारे पनि विचारविमर्श भएको थियो। संयुक्त राष्ट्रसंघको ढाँचाभित्र हुने बहुपक्षीय सहकार्यका विषयमा समेत दुई मन्त्रीबीच छलफल भएको जनाइएको छ।