काठमाडौँ । सरकारले दैनिक उपभोगमा आवश्यक वस्तुको आपूर्ति व्यवस्था सामान्य रहेको जनाएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा अभाव नरहेको भन्दै उपभोक्तालाई आवश्यकता भन्दा बढी खाद्यान्न तथा अन्य अत्यावश्यक वस्तु सञ्चय नगर्न आग्रह गरेको हो।

मन्त्रालयले बुधबार जारी गरेको विज्ञप्तिमा राष्ट्रिय खाद्य सुरक्षा भण्डार र सार्क खाद्य सुरक्षा बैङ्कमा पर्याप्त खाद्यान्न मौज्दात रहेको उल्लेख गरिएको छ।

ad

विपद्का कारण प्रमुख राजमार्ग वा आपूर्ति मार्ग अवरुद्ध भए पनि वैकल्पिक बाटो प्रयोग गरेर अत्यावश्यक वस्तुको ढुवानीलाई निरन्तरता दिने मन्त्रालयले जनाएको छ। बाढी, पहिरो तथा अन्य प्राकृतिक विपत्तिका कारण आपूर्ति प्रणालीमा समस्या आउन नदिन आवश्यक व्यवस्थापन भइरहेको मन्त्रालयको भनाइ छ।

चाडपर्व तथा विपद्को अवस्थालाई मौका बनाएर बजारमा कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने वा अस्वाभाविक रूपमा मूल्य बढाउने गतिविधि रोक्न बजार अनुगमनलाई थप प्रभावकारी बनाइएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतद्वारा जारी विज्ञप्तिमा कार्टेलिङ, सिन्डिकेट, कृत्रिम अभाव, अनुचित मूल्यवृद्धि तथा वस्तु लुकाउने प्रवृत्तिमाथि निगरानी बढाइएको उल्लेख छ।

सरकारले आपूर्ति सहज रहेको अवस्थामा उपभोक्तालाई अनावश्यक रूपमा सामान थुपारेर बजारमा कृत्रिम दबाब सिर्जना नगर्नसमेत आग्रह गरेको छ।