
काठमाडौँ । सर्वोच्च अदालतले व्यवसायी दीपक भट्टको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। भट्टका बुवा चतुर्भुज भट्टले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले विपक्षीका नाममा आदेश जारी गरेको हो।
बिहीबार जारी आदेशमा विशेष अदालत, प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्युरोलगायत विपक्षीलाई रिट जारी गर्नुपर्ने वा नपर्ने आधार र कारण खुलाएर तीन दिनभित्र लिखित जवाफ पेस गर्न भनिएको छ।
सर्वोच्चले आदेश प्राप्त भएको मितिदेखि बाटाको म्यादबाहेक तीन दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्न निर्देशन दिएको हो। साथै विपक्षीहरूका नाममा म्याद सूचना पठाई लिखित जवाफ प्राप्त भए वा तोकिएको अवधि समाप्त भए पनि नियमअनुसार पेस गर्न आदेश दिइएको छ।
इजलासले सर्वोच्च अदालतमा विचाराधीन रहेका दीपक भट्ट (चतुर्भुज भट्ट) विरुद्ध नेपाल सरकारका नाममा रहेका मुद्दा नम्बर ०८३-RE-००२१ र ०८३-RE-००२२ समेत अवलोकनका लागि यसै मुद्दासँगै पेस गर्न आदेश दिएको छ।
भट्ट सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा विशेष अदालतको आदेशपछि पुर्पक्षका लागि हाल डिल्लीबजार कारागारमा छन्। उनको थुनालाई गैरकानुनी दाबी गर्दै बुवा चतुर्भुज भट्टले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए।
अब विपक्षीबाट प्राप्त हुने लिखित जवाफ तथा सम्बन्धित मुद्दाका अभिलेख अध्ययनपछि सर्वोच्चले रिटसम्बन्धी थप प्रक्रिया अघि बढाउनेछ।









Facebook Comments