
काठमाडौं । श्रम स्वीकृति नलिई कामदार भिसामा कुवेत जान खोजेका एक यात्रुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रस्थान अनुमति दिएको घटनामा अध्यागमन अधिकृतमाथि छानबिन सुरु भएको छ।
अध्यागमन विभागका अनुसार असोज ५ गते मनिष बिष्ट नाम गरेका यात्रु श्रम स्वीकृतिबिनै कुवेत गएको विषयमा अनुसन्धान भइरहेको हो। घटनामा विमानस्थल अध्यागमनका अधिकृत टेकबहादुर सेजुवालको संलग्नताबारे अनुसन्धान अघि बढाइएको छ।
विभागको सीसीटीभी निगरानीका क्रममा बिष्ट र अध्यागमन अधिकृतबीच असामान्य गतिविधि देखिएपछि घटनाको अनुसन्धान सुरु गरिएको बताइएको छ। बिहान करिब साढे ६ बजे अध्यागमनमा पुगेका बिष्टले अधिकृत सेजुवालसँग करिब ३० मिनेट कुराकानी गरेको र त्यसपछि बिहान ७ः१० बजे प्रस्थान अनुमति पाएको फुटेजमा देखिएको विभागको भनाइ छ।
जापानमा रहेका व्यक्तिमार्फत रकम लेनदेनको आरोप
कामदार भिसामा कुवेत जान श्रम स्वीकृति अनिवार्य हुने भएकाले बिष्टसँग आवश्यक कागजात नभएको अवस्थामा प्रस्थान अनुमति दिइएको विषय अनुसन्धानको केन्द्रमा छ।
अनुसन्धानमा सेजुवालले बिष्टलाई जापानमा रहेका दीपक मल्लको सम्पर्क नम्बर दिएको र उनीमार्फत रकमको लेनदेन भएको खुलेको स्रोतको दाबी छ। स्रोतका अनुसार बिष्ट र मल्लबीच कुराकानी भएपछि २३ हजार रुपैयाँ बुझाउने सहमति भएको थियो।
मल्लले ह्वाट्सएपमार्फत पठाएको क्यूआर कोडमा बिष्टले २३ हजार रुपैयाँ भुक्तानी गरेको र त्यसपछि उनलाई कुवेत जान अनुमति दिइएको अनुसन्धानबाट खुलेको बताइएको छ।
अध्यागमन विभागले घटनाबारे जानकारी पाएपछि उक्त रकम फिर्ता गरिएको समेत पाइएको जनाएको छ। यद्यपि रकमको प्रकृति र घटनामा सम्बन्धित व्यक्तिहरूको भूमिकाबारे थप अनुसन्धान भइरहेको छ।
मोबाइल नियन्त्रणमा लिएपछि खुलेका विवरण
सीसीटीभी फुटेजमा शंकास्पद गतिविधि देखिएपछि विभागले मंगलबार सम्बन्धित अध्यागमन अधिकृतको मोबाइल नियन्त्रणमा लिएको थियो। मोबाइलमा भेटिएका विवरणका आधारमा यात्रु, जापानमा रहेका व्यक्तिबीच भएको सम्पर्क र रकम लेनदेनबारे थप तथ्य खुलेको स्रोतको भनाइ छ।
मोबाइलसहित सेजुवाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको जिम्मा लगाइएको छ। घटनाको थप अनुसन्धान अख्तियारबाट भइरहेको विभागका एक अधिकारीले जानकारी दिए।
घटनापछि सेजुवाललाई विमानस्थल अध्यागमनबाट हटाएर अध्यागमन विभागको जगेडामा पठाइएको छ।
यस घटनामा अर्को महत्वपूर्ण पक्ष भनेको बिष्ट कुवेत उडिसकेपछि मात्रै उनको श्रम स्वीकृतिको प्रक्रिया अघि बढेको देखिनु हो। अध्यागमन विभागका प्रवक्ता टीकाराम ढकालका अनुसार वैदेशिक रोजगार विभागको प्रणालीमा यात्रु विदेश गइसकेपछि मात्र श्रम स्वीकृतिको प्रक्रिया अघि बढेको विवरण देखिएको छ।
विमानस्थल अध्यागमनका कर्मचारीमाथि यसअघि पनि कारबाही
विमानस्थल अध्यागमनमा कार्यरत कर्मचारीमाथि शंकास्पद गतिविधिको आरोपमा छानबिन भएको यो पहिलो घटना भने होइन। विभागका अनुसार २०८१ कात्तिकयता करिब २० जना कर्मचारीलाई विमानस्थल अध्यागमनबाट हटाएर जगेडामा राखी विभिन्न विषयमा छानबिन गरिएको छ।
यसअघि भिजिट भिसामा विदेश जान लागेका यात्रुलाई अनावश्यक केरकार गरी प्रस्थान अनुमति नदिएको आरोपमा अध्यागमन अधिकृत हेमन्ती साउद र बबिता मरासिनीलाई विभागले जिम्मेवारीबाट हटाएको थियो।
अध्यागमन विभागले विमानस्थलमा हुने गतिविधिलाई निगरानीमा राख्दै शंकास्पद देखिएका घटनामा आवश्यक अनुसन्धान र कारबाही अघि बढाउँदै आएको जनाएको छ।









Facebook Comments