काठमाडौं । नेपाल विज्ञापन संघका पूर्वअध्यक्ष सन्तोष श्रेष्ठ विज्ञापन बोर्डको अध्यक्षमा नियुक्त भएका छन्।

मन्त्रिपरिषद्को असोज २ गतेको निर्णयअनुसार काठमाडौं महानगरपालिका–१४ का श्रेष्ठलाई चार वर्षका लागि बोर्ड अध्यक्षको जिम्मेवारी दिइएको हो। उनले बुधबार सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनासमक्ष पद तथा गोपनीयताको शपथ लिए।

ad

शपथ समारोहमा सञ्चारमन्त्री तिमिल्सिनाले विज्ञापन बोर्डको भूमिका र प्रभावकारिता थप बलियो बनाउन स्पष्ट कार्ययोजनाका साथ अघि बढ्नुपर्ने बताए। बोर्डको विद्यमान अवस्था, चुनौती र सम्भावनाको समीक्षा गर्दै सुधारका ठोस कार्यक्रम अघि सार्न उनले अध्यक्ष श्रेष्ठलाई आग्रह गरे।

नवनियुक्त अध्यक्ष श्रेष्ठले विज्ञापनसम्बन्धी नीति, कानुन तथा ऐनको प्रभावकारी कार्यान्वयनलाई आफ्नो प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाए।

विज्ञापन क्षेत्रलाई व्यवस्थित र पारदर्शी बनाउन सुशासन तथा नागरिकमैत्री सेवा प्रवाहलाई केन्द्रमा राखेर नयाँ कार्ययोजना निर्माण गर्ने उनले बताए।