
काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका चार जनाविरुद्ध संसदीय सुनुवाइ समितिले सार्वजनिक रूपमा उजुरी आह्वान गर्ने निर्णय गरेको छ। उजुरी दिन इच्छुकलाई १० दिनको समय उपलब्ध गराइने भएको छ।
सोमबार सिंहदरबारमा बसेको समितिको बैठकले चारै जना सिफारिस न्यायाधीशका सम्बन्धमा उजुरी माग्ने निर्णय गरेको हो। समितिका सभापति बोधनारायण श्रेष्ठका अनुसार सुनुवाइसम्बन्धी कार्यविधिबमोजिम सार्वजनिक सूचना जारी गरेर उजुरी संकलन गरिनेछ।
उजुरी आह्वानका लागि आवश्यक सूचना प्रकाशन गर्न समितिको सचिवालयलाई निर्देशन दिइएको श्रेष्ठले जानकारी दिए।
न्याय परिषद्ले गत असोज २ गते सर्वोच्च अदालतको न्यायाधीश पदका लागि चार जनाको नाम सिफारिस गरेको थियो। सिफारिस हुनेमा सर्वोच्च अदालत पोखराका मुख्य न्यायाधीश रत्नबहादुर बागचन्द तथा उच्च अदालतका न्यायाधीशहरू चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगी छन्।
संसदीय सुनुवाइको प्रक्रियाअन्तर्गत उजुरी संकलन गरिएपछि समितिले प्राप्त उजुरी र सम्बन्धित विषयमाथि आवश्यक अध्ययन गर्नेछ। त्यसपछि निर्धारित प्रक्रियाअनुसार सिफारिस भएका न्यायाधीशहरूको सुनुवाइ अघि बढाइनेछ।









Facebook Comments