काठमाडौं । भाइटीकाका दिन देशका विभिन्न स्थानमा वर्षा, असिना र हिमपात गराएको मौसमी प्रणाली कमजोर हुँदै जाने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार बिहीबारदेखि देशभरको मौसम क्रमशः सुधार हुँदै आगामी तीन दिनसम्म अधिकांश स्थानमा मौसम सफा रहने सम्भावना छ।

बुधबार बिहानसम्म घाम लागेको काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा मध्याह्नपछि अचानक वर्षा र असिना परेको थियो। विभागका अनुसार काठमाडौंमा मात्रै ३१.२ मिलिमिटरसम्म वर्षा मापन गरिएको छ। अप्रत्याशित वर्षाका कारण भाइटीका लगाउन आफन्तको घर जाने तथा टीका लगाएर फर्किने सर्वसाधारण प्रभावित भएका थिए।

ad

मौसमविद्हरूका अनुसार माथिल्लो वायुमण्डलमा सक्रिय चिसो पश्चिमी वायु र स्थानीय वायुमण्डलीय प्रणालीबीचको अन्तरक्रियाले वर्षा, असिना तथा हिमपातको अवस्था सिर्जना गरेको हो। मनसुनपछि पनि जमिन तातिने क्रम जारी रहँदा स्थानीय वायुमण्डलमा जलवाष्प जम्मा हुने र पश्चिमी वायुसँगको अन्तरक्रियाले वर्षा गराउने अवस्था बनेको उनीहरूको विश्लेषण छ।

यद्यपि, अहिले वर्षा गराउन सक्ने शक्तिशाली मौसमी प्रणाली सक्रिय नरहेकाले यसको प्रभाव लामो समय कायम नरहने मौसमविद्हरूको भनाइ छ। बुधबार रातिदेखि नै वर्षा गराउने प्रणाली कमजोर हुँदै जाने र बिहीबारबाट मौसममा क्रमिक सुधार आउने विभागले जनाएको छ।

मौसम सफा हुँदै गएपछि दैनिक जनजीवनसँगै कृषि गतिविधिमा पनि सहजता आउने अपेक्षा गरिएको छ। विशेषगरी धानलगायतका बाली भित्र्याउने तयारीमा रहेका किसानका लागि बिहीबारदेखि अनुकूल वातावरण बन्ने विभागको पूर्वानुमान छ।

भाइटीकाको दिन अचानक बदली भएर वर्षा र हिमपात भए पनि आगामी दिनमा मौसम सामान्य बन्दै जाने भएकाले सर्वसाधारणलाई थप प्रतिकूल मौसमी अवस्थाको सामना गर्नुपर्ने सम्भावना कम देखिएको छ।