
जनकपुरधाम । मधेश प्रदेश सरकारले लामो समयदेखि प्रभावित हुँदै आएको सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) वितरणलाई गति दिन प्रदेशमै कार्ड छपाइ सुरु गरेको छ।
श्रम तथा यातायात मन्त्रालयले बुधबार जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै पहिलो चरणमा छापिएका स्मार्ट लाइसेन्स सम्बन्धित जिल्लाका यातायात व्यवस्था कार्यालयलाई हस्तान्तरण गरेको हो।
मन्त्री शारदादेवी थापाले ३ हजार ८१ वटा तयार स्मार्ट कार्ड विभिन्न जिल्लाका यातायात कार्यालय प्रमुखलाई हस्तान्तरण गरिन्। मन्त्रालयका अनुसार राजविराजका लागि ५२, सिरहाका लागि ४६०, महोत्तरीका लागि ३०३, धनुषाका लागि ९३२, सर्लाहीका लागि ३२, रौतहटका लागि ११९, बाराका लागि ११ र पर्साका लागि १ हजार १७२ वटा लाइसेन्स पठाइएको छ।
मन्त्री थापाका अनुसार प्रदेश सरकार आफैंले स्मार्ट कार्ड छपाइ गरी वितरण सुरु गर्ने मधेश पहिलो प्रदेश बनेको छ। नयाँ व्यवस्थाले चालक अनुमतिपत्रका लागि परीक्षा उत्तीर्ण गरेपछि कार्ड तयार गर्न लाग्ने समय घटाउने सरकारको लक्ष्य छ।
मन्त्रालयले तयार भएका लाइसेन्स सम्बन्धित पालिकामार्फत सेवाग्राहीसम्म पुर्याउने व्यवस्था मिलाएको जनाएको छ। यसबाट लाइसेन्स लिन जिल्ला सदरमुकाम वा यातायात कार्यालयसम्म पटक–पटक पुग्नुपर्ने सेवाग्राहीको बाध्यता कम हुने अपेक्षा गरिएको छ।
अब परीक्षा उत्तीर्ण गरेपछि तयार भएको स्मार्ट कार्ड सम्बन्धित पालिकामा पठाइने र सेवाग्राहीले आफ्नै स्थानीय तहबाट लाइसेन्स प्राप्त गर्न सक्ने व्यवस्था कार्यान्वयनमा ल्याइएको मन्त्री थापाले बताइन्।









Facebook Comments