
काठमाडौं । मौसममा प्रतिकूल अवस्था आउन सक्ने पूर्वानुमानपछि बीपी राजमार्गको निर्माणाधीन ट्र्याक खोल्ने काम केही दिनका लागि रोक्ने तयारी गरिएको छ।
आगामी दिनमा विभिन्न क्षेत्रमा भारी वर्षा हुन सक्ने तथा त्यसबाट पहिरो र सडकमा थप जोखिम निम्तिन सक्ने अवस्थालाई ध्यानमा राख्दै निर्माण कार्य अस्थायी रूपमा स्थगित गर्न लागिएको पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले बताएका छन्।
मन्त्री लम्सालका अनुसार वर्षाका कारण निर्माणाधीन सडक क्षेत्रमा सम्भावित क्षति तथा यातायात सञ्चालनमा पर्न सक्ने असरलाई मध्यनजर गर्दै काम रोक्ने निर्णय गर्न लागिएको हो। निर्माण कार्य स्थगनले जोखिम कम गर्दै सडकमा आवागमनलाई सुरक्षित र सहज बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
सम्भावित वर्षा र पहिरोको जोखिमलाई ध्यानमा राखेर राजमार्ग हुँदै यात्रा गर्ने यात्रु तथा सर्वसाधारणलाई आवश्यक सावधानी अपनाउन मन्त्री लम्सालले आग्रह गरेका छन्। उनले अनावश्यक जोखिम लिएर यात्रा नगर्नसमेत अनुरोध गरेका छन्।








Facebook Comments