काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ तथा वितरण प्रक्रियालाई थप व्यवस्थित बनाउन तीन सरकारी निकायबीच त्रिपक्षीय सम्झौता भएको छ।

यातायात व्यवस्था विभाग, हुलाक सेवा विभाग र सुरक्षण मुद्रण केन्द्रबीच मंगलबार पूर्वाधार विकास मन्त्रालयमा सम्झौता भएको हो।

ad

सम्झौताअनुसार यातायात व्यवस्था विभागको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (इडीएलभीआरएस) बाट जारी हुने लाइसेन्सको विवरण सिधै सुरक्षण मुद्रण केन्द्रको प्रणालीमा पठाइनेछ। प्राप्त विवरणका आधारमा केन्द्रले लाइसेन्स छपाइ गर्ने व्यवस्था मिलाइनेछ।

छपाइ भएका लाइसेन्स सम्बन्धित प्रदेश कार्यालयमा पुर्‍याउने तथा सेवाग्राहीले उपलब्ध गराएको ठेगानामा पठाउने काम हुलाक सेवा विभागमार्फत व्यवस्थित गरिनेछ।

मन्त्रालयका अनुसार लाइसेन्सको विवरण पठाउनेदेखि छपाइ र सेवाग्राहीसम्म पुर्‍याउनेसम्मको प्रक्रियालाई एकीकृत र व्यवस्थित बनाउन सम्झौताले सहयोग पुर्‍याउनेछ।

यस व्यवस्थाले लाइसेन्स वितरणमा देखिँदै आएका प्रक्रियागत जटिलता कम गर्दै सेवाग्राहीलाई सहज रूपमा अनुमतिपत्र उपलब्ध गराउने लक्ष्य राखेको छ।