
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायुकुमार श्रेष्ठ नियुक्त भएका छन्। मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले यसअघि कायममुकायम कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालिरहेका श्रेष्ठलाई औपचारिक रूपमा नै पूर्ण कार्यकारी निर्देशकको जिम्मेवारी सुम्पने निर्णय गरेको हो।
सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ कार्यान्वयनमा आएपछि तत्कालीन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य पदमुक्त भएका थिए। त्यससँगै रिक्त भएको प्राधिकरणको नेतृत्व श्रेष्ठले सम्हाल्दै आएका थिए। सुरुमा निमित्त र पछि सञ्चालक समितिबाट कायममुकायमको जिम्मेवारी पाएका श्रेष्ठले अब पूर्ण कार्यकालका लागि प्राधिकरणको प्रशासनिक तथा प्राविधिक बागडोर सम्हाल्ने भएका छन्।
ऊर्जा क्षेत्रका ज्वलन्त चुनौती र श्रेष्ठका काँधमा जिम्मेवारी
लामो समयदेखि प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालय र वरिष्ठ उपकार्यकारी निर्देशकको भूमिका निर्वाह गरिसकेका श्रेष्ठका लागि आगामी दिनहरू सहज छैनन्। एकातिर हालै रसुवामा गएको विनाशकारी हिमपहिरो तथा बाढीले जलविद्युत् क्षेत्रमा पुर्याएको क्षतिलाई पुनर्उत्थान गर्नुछ भने अर्कोतिर प्रसारण लाइनको विस्तार र विद्युत् व्यापारलाई व्यवस्थित बनाउनु उनको प्रमुख प्राथमिकता रहनेछ।
पूर्ण जिम्मेवारी सम्हालेलगत्तै श्रेष्ठले आफ्नो प्रतिक्रिया दिँदै भनेका छन्, “ऊर्जा क्षेत्रलाई अझ भरपर्दो (रिलायबल) बनाउने, हालैको बाढीले क्षतिग्रस्त जलविद्युत् संरचनालाई उकास्ने र प्रसारण लाइनको सुधार मेरा मुख्य प्राथमिकता हुन्। संस्था र देशको ऊर्जा विकासका लागि म दत्तचित्त भएर सबैको सहकार्यमा अघि बढ्नेछु।”
हाल नेपाल विद्युत् प्राधिकरणले १२ हजार मेगावाटभन्दा बढी क्षमताको विद्युत् खरिद सम्झौता (PPA) गरिसकेको छ। तर, आन्तरिक खपत सोही अनुपातमा बढ्न नसक्नु र उत्पादित बिजुली भारततर्फको निर्यातमा मात्रै निर्भर हुनुपर्ने बाध्यताले नेतृत्वलाई सधैं चिन्तित बनाउँदै आएको छ। यसलाई दीर्घकालीन रूपमा व्यवस्थापन गर्न आन्तरिक बजार प्रवर्द्धन र क्षेत्रीय व्यापारको दायरा फराकिलो पार्नुपर्ने चुनौती नयाँ नेतृत्वसमक्ष उभिएको छ।
२८ वर्षभन्दा लामो प्राविधिक अनुभव
सन् १९७१ अक्टोबर १० मा जन्मिएका श्रेष्ठको व्यावसायिक जीवनको अधिकांश समय नेपाल विद्युत् प्राधिकरणकै सेवामा बितिसकेको छ। उनले सन् १९९७ नोभेम्बरमा इन्जिनियरको रूपमा प्राधिकरणमा सेवा प्रवेश गरेका थिए। यस हिसाबले उनले ऊर्जा क्षेत्रमा २८ वर्षभन्दा बढीको लामो र अनुभवसिद्ध कार्यकाल पूरा गरिसकेका छन्।
शैक्षिक रूपमा पनि उनी बलियो प्राविधिक पृष्ठभूमिका छन्। उनले भारतको अलिगढ मुस्लिम विश्वविद्यालयबाट सन् १९९६ मा विद्युत् इन्जिनियरिङमा स्नातक र त्रिभुवन विश्वविद्यालय अन्तर्गत पुल्चोक क्याम्पसबाट सन् २००५ मा सूचना तथा सञ्चार इन्जिनियरिङमा स्नातकोत्तर तह पूरा गरेका छन्।
इन्जिनियरदेखि कार्यकारी निर्देशसम्मको यात्रा
प्राधिकरणभित्र श्रेष्ठले तल्लो तहदेखि उच्च तहसम्म विभिन्न महत्त्वपूर्ण जिम्मेवारीहरू कुशलतापूर्वक निर्वाह गरेका छन्। उनले सन् १९९७ देखि २००५ सम्म लोड डिस्प्याच सेन्टरमा प्रणाली सञ्चालक इन्जिनियरको रूपमा काम गरेका थिए भने सन् २००५ देखि २००९ सम्म काठमाडौं पूर्वलगायत विभिन्न वितरण केन्द्रहरूमा सहायक प्रबन्धकको जिम्मेवारी सम्हालेका थिए। त्यसैगरी, सन् २०११ देखि २०१४ सम्म हेटौँडा ग्रिड डिभिजन र कालीगण्डकी जलविद्युत् आयोजनाको प्रमुखको भूमिका निर्वाह गर्नुभएका उनले अत्तरिया, हेटौँडा र काठमाडौं क्षेत्रीय कार्यालयका प्रमुखको रूपमा समेत नेतृत्व सम्हालिसकेका छन्। यसबाहेक, उनी ग्रिड सञ्चालन विभागको प्रमुख, सन् २०२० देखि २०२५ सम्म प्रसारण निर्देशनालयको उपकार्यकारी निर्देशक तथा सन् २०२५ देखि २०२६ सम्म वितरण तथा ग्राहक सेवा निर्देशनालयको उपकार्यकारी निर्देशकको जिम्मेवारीमा रहेर काम गरिसकेका छन्।
विद्युत् उत्पादन, प्रसारण र वितरण तीन वटै क्षेत्रमा काम गरेको प्रत्यक्ष अनुभव भएकाले श्रेष्ठलाई प्राधिकरणको आन्तरिक प्रणालीको गहिरो ज्ञान छ। नीति निर्माण, रणनीतिक योजना, वित्तीय व्यवस्थापन, क्षेत्रीय ऊर्जा सहकार्य तथा नियामक निकायसँगको समन्वयमा समेत दख्खल राख्ने श्रेष्ठको यो नयाँ कार्यकालले नेपालको ऊर्जा क्षेत्रलाई कस्तो दिशा देला, चासोका साथ हेरिएको छ।









Facebook Comments