काठमाडाैं । वैदेशिक रोजगारीको बाध्यता अन्त्य गर्न सरकारले आफ्नो नीति तथा कार्यक्रममा घोषणा गरेको लक्ष्यलाई कार्यान्वयन गर्दै देशमै रोजगारीका अवसर सिर्जना गर्ने दिशामा तीव्र रूपमा काम अगाडि बढाएको छ। 

आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममा समेटिएको रोजगार प्रवर्द्धन दशक (२०८३–२०९२) को परिकल्पनालाई व्यावहारिक रूप दिन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ठोस कार्ययोजनासहित काम थालेको हो। युवा जनशक्तिको ऊर्जा, क्षमता र सीपलाई विदेशिनबाट रोकी स्वदेशमै सदुपयोग गर्ने नीतिगत लक्ष्यअनुरूप मन्त्रालयले यो अभियान सञ्चालन गरिरहेको छ।

ad

इसी अभियानअन्तर्गत आगामी असोज १४ देखि २० गतेसम्म कोशी प्रदेशको इटहरीमा विशेष सातदिने सीप तथा रोजगार मेला आयोजना हुँदैछ। देशभरि यस्ता अभियानलाई विस्तार गर्ने उद्देश्यले मन्त्रालयले सीप तथा रोजगार मेला सञ्चालन निर्देशिका, २०८३ जारी गरी आवश्यक प्रक्रिया अघि बढाइसकेको छ। 

श्रममन्त्रीको संयोजकत्वमा विशेष निर्देशन तथा समन्वय समिति गठन गरिएको छ भने प्रदेश सरकार, स्थानीय तह र जिल्ला प्रशासन कार्यालयसँगको सुदृढ सहकार्यमा मेलाको सम्पूर्ण व्यवस्थापकीय तयारी भइरहेको छ।

आयोजना हुने यस मेलामा निजी क्षेत्र, विभिन्न उद्योग–प्रतिष्ठान, तालिम प्रदायक संस्था, विकास साझेदार र सामाजिक सुरक्षा कोषका विशेष स्टलहरू रहनेछन्। मेलाले रोजगारदाताको वास्तविक जनशक्ति माग पहिचान गरी रोजगार खोजकर्ताहरूलाई उनीहरूको योग्यता, रुचि र सीपअनुसार उपयुक्त रोजगारीसँग मिलान गर्नेछ। 

साथै, मेलामा सीप परीक्षण, व्यावसायिक तालिम, करियर परामर्श र उद्यमशीलता प्रवर्द्धनसँग सम्बन्धित सेवाहरू पनि एकै स्थानबाट उपलब्ध गराइनेछ। सरकारको यस प्रकारको परिणाममुखी कदमले स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्दै वैदेशिक रोजगारीको बाध्यतालाई विकल्पमा रूपान्तरण गर्न महत्त्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ।