
काठमाडौं । रसुवा र भोटेकोशी क्षेत्रमा हालै गएको बाढीका कारण तोकिएको समयसीमाभित्र सम्पत्ति विवरण पेश गर्न असमर्थ रहेका राष्ट्रसेवक कर्मचारीहरूको लागि सरकारले ३० दिनको अतिरिक्त समय थप गरेको छ।
राष्ट्रिय किताबखानाले एक सूचना जारी गर्दै प्रभावित क्षेत्रमा कार्यरत निजामती कर्मचारी, नेपाल प्रहरी तथा शिक्षकहरूको सहजताका लागि म्याद थपिएको औपचारिक जानकारी गराएको हो।
सरकारले गत २०८३ भदौ १० गते रसुवा–भोटेकोशी क्षेत्रलाई विपद् सङ्कटग्रस्त घोषणा गरेको थियो। सोही सङ्कटग्रस्त क्षेत्रमा कार्यरत रहँदा कानुनी दायित्व अनुसार समयमै सम्पत्ति विवरण बुझाउन नसकेका कर्मचारीहरूको समस्यालाई मध्यनजर गर्दै किताबखानाले यो सुविधा ल्याएको हो।
थप गरिएको यो ३० दिनको अवधिभित्र विवरण बुझाउँदा सम्बन्धित कर्मचारीले अनिवार्य रूपमा कार्यालय प्रमुखको सिफारिसपत्र संलग्न गर्नुपर्नेछ। निर्धारित समयमा विवरण पेश गर्न नसक्नुको कारण र स्पष्ट व्यहोरासहितको सो आधिकारिक सिफारिसपत्र भएपछि मात्र विवरण स्वीकार गरिने राष्ट्रिय किताबखानाले जनाएको छ। विपद्ले सिर्जना गरेको असहज परिस्थितिमा कर्मचारीलाई प्रशासनिक झन्झटबाट राहत दिन यो निर्णय गरिएको हो।









Facebook Comments