
काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभिरमा नयाँ ट्रयाक निर्माण गरी दुईतर्फी सवारीसाधन सञ्चालनमा ल्याइएसँगै राजधानी भित्रिने र बाहिरिने यात्रुको यात्रा सहज बन्न पुगेको छ। बाढी र पहिरोका कारण सडकको ठूलो हिस्सा क्षतिग्रस्त भएपछि विगत १८ दिनदेखि यो खण्डमा नियमित यातायात पूर्ण रूपमा अवरुद्ध हुँदै आएको थियो।
नयाँ ट्रयाकको निर्माण तथा सफल परीक्षण पश्चात् बिहीबार बिहानैदेखि यस खण्डमा दुईतर्फी सवारीसाधन सुचारु गरिएको धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे गौतमले जानकारी दिएकी छन्। राजमार्ग सञ्चालनमा आएपछि काठमाडौँ उपत्यकामा आवतजावत गर्ने यातायातको चाप बढे पनि कृष्णभिर आसपासमा हाल कुनै किसिमको जाम वा अवरोध नरहेको जिल्ला प्रशासन कार्यालयले स्पष्ट पारेको छ। लामो समयदेखि वैकल्पिक मार्ग प्रयोग गर्न बाध्य बनेका हजारौँ मालवाहक तथा यात्रुवाहक सवारीसाधन पुनः पृथ्वीराजमार्गबाटै सहजै आवतजावत गर्न थालेका छन्।
इलाका प्रहरी कार्यालय गजुरीका प्रमुख, प्रहरी नायव उपरीक्षक (डिएसपी) सुरज कार्कीका अनुसार कृष्णभिर खुलेपछि राजमार्गमा सवारीको चाप निकै बढेको छ। बुधबार मात्रै करिब आठ सयदेखि एक हजारसम्म सवारीसाधन यस मार्गबाट काठमाडौँ भित्रिएकोमा बिहीबार त्यसभन्दा बढी गाडीहरू राजधानीितर्फ प्रवेश गरेका छन्। समग्रमा राजमार्गको अवस्था अहिले सामान्य रहेको सुरक्षा निकायले जनाएको छ।
यद्यपि, वर्षायाम अझै पूर्ण रूपमा नटरेका कारण पृथ्वीराजमार्गका अन्य केही भूभाग पूर्ण रूपमा जोखिममुक्त भने भइसकेका छैनन्। सम्भावित पहिरो तथा सडक भासिने जोखिमलाई मध्यनजर गर्दै धादिङ प्रशासनले आवश्यक प्राविधिक टोली, मेसिनरी उपकरण र सुरक्षाकर्मीहरूलाई २४ घण्टा तयारी हालतमा राखेको छ। कुनै पनि स्थानमा सडक अवरुद्ध भएमा तत्काल पन्छाएर यातायात सुचारु गराउन पूर्वतयारी बलियो पारिएको प्रजिअ गौतमले बताइन्।
यसैबीच, पृथ्वी राजमार्गकै शीतलबजार क्षेत्रमा नेपाली सेनाद्वारा 'ब्लास्टिङ' गरी सडक निर्माण तथा विस्तारको काम भइरहेका कारण त्यहाँ भने यातायात एकतर्फी मात्रै सञ्चालनमा छ। निर्माण कार्य चलिरहेको उक्त क्षेत्रमा केही समय अवरोध हुन सक्ने भएकाले चालक तथा यात्रुहरूलाई सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न प्रहरीले विशेष अनुरोध गरेको छ।









Facebook Comments