
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएका कर्मचारी र कामदारका परिवारका लागि आकर्षक राहत प्याकेज घोषणा गरेको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठको अध्यक्षतामा बुधबार साँझ बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले बाढीमा बेपत्ता भएका ४७ जना कर्मचारी तथा कामदारका आश्रित परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको हो। बाढीका कारण हालसम्म १३ वटा जलविद्युत आयोजनामा क्षति पुग्नुका साथै विभिन्न स्थानमा कर्मचारी तथा कामदारहरू बेपत्ता भएका छन्।
सञ्चालक समिति सदस्य अंशुकिरण शाहीका अनुसार घोषणा गरिएको राहत प्याकेजअनुसार पहिलो चरणमा बेपत्ता भएका स्थायी, ज्यालादारी तथा सेवा करारका सबै कर्मचारी र कामदारका नजिकका हकवालालाई तत्काल प्रतिव्यक्ति ५० हजार रूपैयाँ राहत उपलब्ध गराइएको छ। बेपत्ताहरूको खोजी कार्य, कुलधर्म अनुसारको सामाजिक संस्कार तथा दैनिकी जीवनयापनमा सहयोग पुगोस् भन्ने उद्देश्यले यो रकम दिइएको हो।
त्यस्तै, दोस्रो राहत प्याकेज अन्तर्गत स्थायी कर्मचारीका हकमा अर्को निर्णय नभएसम्म वा आगामी भदौ महिनादेखि बढीमा ६ महिनासम्म उनीहरूको तहको सुरु तलब स्केलको ५० प्रतिशत रकम निर्वाह भत्तास्वरूप हकवालालाई उपलब्ध गराइनेछ।
बैठकमा मन्त्री श्रेष्ठले संकटको यस घडीमा बेपत्ता भएका कर्मचारी र कामदारका परिवारको साथमा सरकार दृढतापूर्वक उभिएको बताएका छन्। उनले भने, 'हामी एउटै परिवार हौं। सरकारले उपलब्ध गराउने यो सहयोगले यत्रो ठूलो दुःखको घाउ पूणरूपमा निको त पार्दैन, तर यसले मलम लगाउने काम गर्नेछ।'









Facebook Comments