काठमाडौँ । बजारमा बढ्दो मूल्यवृद्धि, कालोबजारी र खाना पकाउने एलपी ग्यासको चरम अभाव नियन्त्रण गर्न माग गर्दै अग्रगामी युवा मोर्चाले सरकारविरुद्ध आन्दोलनको घोषणा गरेको छ। आम जनता पार्टी (आजपा) को काठमाडौँस्थित कार्यालयमा मङ्गलबार बसेको मोर्चाको बैठकले आगामी असोज ६ गते नेपाल आयल निगमको केन्द्रीय कार्यालय घेराउ गर्ने निर्णय गरेको हो।

दैनिक उपभोग्य वस्तुको हाहाकार हुँदा पनि बजार अनुगमन प्रभावकारी नभएको भन्दै मोर्चाले ५ बुँदे मागसहित संयुक्त प्रेस विज्ञप्ति जारी गरेको छ। माग पूरा नभए देशव्यापी सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिँदै मोर्चाले प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह नेतृत्वको सरकारको ध्यानाकर्षण गराएको छ।

ad

अग्रगामी युवा मोर्चाले एलपी ग्यासको सहज सर्वसुलभ उपलब्धता सुनिश्चित गर्नुपर्ने र पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिनुपर्न,  भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढी प्रभावितहरूलाई तीनै तहका सरकारको एकीकृत समन्वयमा तत्काल उद्धार, उचित राहत र स्थायी पुनर्स्थापना गर्नुपर्ने, संस्थागत भ्रष्टाचार र प्रशासनिक ढिलासुस्ती अन्त्य गरी पारदर्शी शासन व्यवस्था मिलाउनुपर्ने,  स्वदेशमै रोजगारी सिर्जना गर्नुपर्ने तथा वैदेशिक रोजगारीका नाममा भइरहेको ठगी र बिचौलियाको सञ्जाल तत्काल नियन्त्रण गर्नुपर्ने माग राखेका छन्।

उक्त संयुक्त विज्ञप्तिमा मोर्चा सम्बद्ध विभिन्न युवा तथा विद्यार्थी सङ्गठनका प्रतिनिधिहरू—मनिष यादव (समाजवादी युवा सङ्घ), जनकबहादुर कार्की (समाजवादी युवा सङ्गठन), पोषण कुमार यादव (विद्यार्थी जनमत सङ्घ), विप्लव खुम्बु (खुम्बुवान राष्ट्रिय मोर्चा), राजेश शर्मा (आईटी आर्मी), प्रिन्स साह (आम विद्यार्थी मोर्चा), मुकेश कुमार यादव (समाजवादी विद्यार्थी युनियन), रवि ध्वज कार्की (कमन जेनजी नेपाल) र डिएन जोशी (युवा सङ्गठन-प्रलोपा) ले संयुक्त हस्ताक्षर गरेका छन्।