त्रिवेणी (रुकुम पश्चिम) । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका ६ को देउता खोलामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । आज बिहान वडा नं ६ को कोटगाउँबाट गाउँपालिकाको केन्द्र सानीभेरी ९ सिम्ली हुँदै खलङ्गातर्फ आउँदै गरेको लु१च ६०२९ नम्बरको जिप दुर्घटना भएको हो ।


जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जानकारी दिए । दुर्घटनामा जिप चालक त्रिवेणी गाउँपालिका १ रुघाका सुन्दर खड्का मगर र सानीभेरी ६ की अन्दाजी १६ वर्षीया प्रेमकला पुनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ad

दुर्घटनामा गम्भीर घाइते भएका दुई जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत प्रादेशिक अस्पताल सुर्खेत पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक पौडेलले जानकारी दिए । 

जिपमा ११ जना सवार थिए । तीमध्ये पाँच जना घाइतेको अवस्था भने मध्यम छ । पालिकाले खर्च बेहोर्ने गर्ने गरी घाइतेको उद्धार गर्न नेपाली सेनाको हेलिकप्टर माग गरिएको सानीभेरी गाउँपालिकाका अध्यक्ष विर्खबहादुर विष्टले जानकारी दिए ।