काठमाडौं — रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीले शिक्षा क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ। बाढीबाट प्रभावित विद्यालय तथा शैक्षिक संरचनाको पुनर्निर्माण र पुनरुत्थानका लागि सरकारले २ अर्ब ३४ करोड ३२ लाख १७ हजार ५०० रुपैयाँ आवश्यक पर्ने अनुमान गरेको छ।

राष्ट्रिय योजना आयोग, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलगायत निकायका प्राविधिक प्रतिनिधि सम्मिलित टोलीले गरेको ‘द्रुत क्षति तथा आवश्यकता आकलन’ अनुसार बाढीबाट जिल्लाका १८ विद्यालय प्रभावित भएका छन्।

ad

प्रभावित विद्यालयमध्ये ११ वटा भवन पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने सातवटा विद्यालयमा आंशिक क्षति पुगेको प्रतिवेदनमा उल्लेख छ। बाढीले विद्यालयका भवन मात्र नभई कक्षाकोठामा रहेका शैक्षिक सामग्री, फर्निचरलगायतका सम्पत्तिमा समेत क्षति पुर्‍याएको छ।

बाढीपछि प्रभावित क्षेत्रमा ९ हजारभन्दा बढी विद्यार्थीको नियमित पठनपाठन प्रभावित भएको आकलन गरिएको छ। विद्यालयका भौतिक संरचना क्षतिग्रस्त हुँदा विद्यार्थीको शिक्षण–सिकाइ प्रक्रिया नै अवरुद्ध भएको हो।

तत्काल १० करोड ५० लाख आवश्यक

सरकारले प्रभावित विद्यालयमा पठनपाठन पुनः सञ्चालन गर्न तत्कालीन आवश्यकता पूरा गर्न १० करोड ५० लाख रुपैयाँ खर्च हुने अनुमान गरेको छ। यसबाट क्षतिग्रस्त संरचना व्यवस्थापन तथा तत्कालका लागि आवश्यक शैक्षिक वातावरण तयार पार्ने काम गरिनेछ।

दीर्घकालीन रूपमा विद्यालय तथा शिक्षा क्षेत्रको पुनरुत्थान र पुनर्निर्माणका लागि भने २ अर्ब २३ करोड ८२ लाख १७ हजार ५०० रुपैयाँ आवश्यक पर्ने प्रतिवेदनले देखाएको छ।

यसैबीच सरकारले बाढी प्रभावित विद्यार्थीको शैक्षिक निरन्तरता कायम राख्न ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ घोषणा गरेको छ।

सरकारको आग्रहपछि नेपालका निजी विद्यालय क्षेत्रका पाँचवटा संस्थाले समेत प्रभावित विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउन १ अर्ब रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

बाढीले विद्यालयका पूर्वाधारमा पुर्‍याएको क्षतिसँगै ठूलो संख्यामा विद्यार्थीको पढाइ प्रभावित भएकाले तत्काल राहतसँगै दीर्घकालीन पुनर्निर्माणलाई प्राथमिकतामा राख्नुपर्ने देखिएको छ।