काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीपछि उद्धार, राहत तथा पुनर्स्थापनाका लागि जुटाइएको प्रधानमन्त्री राहत कोषमा १२ अर्ब ६३ करोड रुपैयाँभन्दा बढी रकम मौज्दात रहेको छ।

उपलब्ध विवरणअनुसार कोषमा हाल १२ अर्ब ६३ करोड ९२ लाख ५७९ रुपैयाँ बराबरको रकम रहेको छ। गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकका लागि सरकारले सहयोग गर्न आह्वान गरेपछि कोषमा स्वदेश तथा विदेशबाट रकम जम्मा हुन थालेको हो।

ad

कोषमा रहेको रकममध्ये विभिन्न नौ वटा वाणिज्य बैंकका खातामा ९ अर्ब ३२ करोड ६७ लाख ८२ हजार २३५ रुपैयाँ मौज्दात छ।

त्यसैगरी, दुई वाणिज्य बैंकमा २ करोड १८ लाख ९ हजार ४४४ अमेरिकी डलर जम्मा रहेको विवरणमा उल्लेख छ।

विपद् प्राधिकरणलाई एक अर्ब निकासा

बाढी प्रभावित क्षेत्रमा तत्काल राहत तथा उद्धारका लागि प्रधानमन्त्री राहत कोषबाट एक अर्ब रुपैयाँ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई उपलब्ध गराइसकिएको छ।

सरकारले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रको राहत, उद्धार र पुनर्स्थापनाका लागि आर्थिक सहयोग जुटाउन सार्वजनिक अपिल गरेको थियो। त्यसपछि विभिन्न व्यक्ति, संस्था तथा स्वदेश र विदेशमा रहेका नेपालीबाट प्राप्त सहयोग कोषमा जम्मा भएको हो।

अब कोषमा मौज्दात रहेको रकमलाई बाढी प्रभावित क्षेत्रमा राहत, पुनर्स्थापना तथा आवश्यक पूर्वाधार निर्माणमा कसरी परिचालन गरिन्छ भन्ने विषय महत्वपूर्ण बनेको छ।